नेपालगञ्ज :नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा शनिबार देखि औपचारिक रूपमा छठ सुरु भएको छ । बागेश्वरी मन्दिरमा रहेको तलाउ, रानी तलाउ, हिरमिनियाको अहिराजपुरलगायतमा छठको पूजाको लागि सजावट तथा बेदी निर्माण गर्ने काम भइरहेको छ । छठ पूजा समिति बाँकेका सदस्य बृजेशकुमार सिंहले विगतजस्तै यो वर्ष पनि बाँकेको बागेश्वरी मन्दिर, रानी तलाउ, हिरमिनियाको अहिराजपुरलगायतका स्थानमा छठ पूजा गरिने गरी तयारी र सजावटको काम गरिरहेको बताए ।
उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको जानकारी दिदै सोमबार अस्ताउदो सूर्यलाई अर्घदिएर जाग्राम बस्ने श्रद्धालुलाई बागेश्वरी मन्दिर परिसरमा ओड्ने ओच्छाउने, पानीलगायतको सामाग्री पूजा समितिबाट उपलब्ध गराईने गरी तयारी गरिएको जानकारी दिए । उनले पूजा समितिले चार क्वीन्टल ठोकुवा, केरा लगायतको प्रशादी तयार गरी वितरण गरिने र विभिन्न खालका साँस्कृतिक कार्यक्रमसमेतको आयोजना गरिएको बताए ।
चारदिनसम्म मनाइने छठपर्व भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ । त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिनेछ ।
ADVERTISEMENT

