काठमाडौँ । कांग्रेसका संस्थापन पक्षीय २४ केन्द्रीय सदस्यहरूले पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् । उनीहरूले डा. कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बिहान भेट गरेर आफूहरूले उठाउँदै आएका मागबारे जानकारी गराउँदै समर्थन गरिदिन आग्रह गरेका हुन् ।संस्थापन पक्षीय यी केन्द्रीय सदस्यहरूले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए । ती माघमा पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया यही मंसिर मसान्तमा सुरु गरेर सकभर पुस मसान्तभित्र सक्नुपर्ने बताउँदै आएका छन् ।
डा. कोइराला डा. मिनेन्द्र रिजाल, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार केन्द्रीय सदस्यहरू सञ्जय गौतम, डा. गोविन्दराज पोखरेलसहितका नेताहरूसँग उनीहरूले नियमित महाधिवेशनको प्रक्रिया मंसिरमा नै सुरु गरेर सकभर पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नुपर्ने आफूहरूको मागमा समर्थन जनाउन आग्रह गरेको भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार उनीहरूले नियमित महाधिवेशन समयमै सम्पन्न गर्न पहलकदमी दिन डा. कोइरालालाई आग्रह गरेका थिए ।
भेटमा डा. कोइरालाले शनिबारको केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनका सन्दर्भमा किन निर्णय गरेन त्यसबारे आफूलाई जानकारी नभएको बताएका थिए । ‘शनिबारको केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनसम्बन्धी निर्णय गर्नुपर्ने थियो । किन त्यो निर्णय गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस भएन मलाई जानकारी भएन,’ भेटमा डा. कोइरालाको भनाइ उद्धृत गर्दै शेर्पाले रातोपाटीसँग भने, ‘नियमित महाधिवेशन पुस मसान्तसम्म सम्पन्न हुनुपर्छ भन्ने मेरो अडान यथावत् छ । त्यो अडानबारे निर्णय गराउन म लागिरहेको छु ।कोइरालाले भेटमा महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर भेरिफिकेसन गरेर विशेष महाधिवेशन गर्दा पार्टी फुट्ने सम्भावना प्रबल हुने बताएका थिए । यदि विशेष महाधिवेशन गर्नैपर्ने अवस्था आएमा हस्ताक्षर भेरिफिकेसन गरेर नभई केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत निर्णय गरेर गर्नुपर्ने बताएका शेर्पाले जानकारी दिए ।
२४ केन्द्रीय सदस्यहरूले आफ्ना माग पूरा गराउन यसअघि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीलाई भेटिसकेका छन् ।कांग्रेसमा महाधिवेशन फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्नेमा विवाद छ । महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । थापाको प्रस्तावलाई इतर समूहले र यादवको प्रस्तावलाई संस्थापनले समर्थन गरेपछि कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बनिरहेको छ ।

