काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । श्रीवास्तवलाई काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा छातीमा अत्यधिक दुखाइ भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी धापासीस्थित ग्रान्डी अन्तर्ष्ट्रिय अस्पतालमा पुर्याइएको थियो ।
चिकित्सकका अनुसार छातीको दुखाइ दिउँसो साँढे एक बजेतिर देखिएको थियो । तर उनलाई उद्धार गरी ग्रान्डी ल्याउँदा ४ बजेको थियो । प्रारम्भिक उपचारपछि थप जाँच गर्दा हृदयघात भएको पुष्टि भएको थियो । मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएको थियो ।
मुटुमा अन्य केही नशामा पनि अवरोध देखिएको र ती अवरोधहरूलाई आवश्यकता अनुसार पछि उपचार गरिने जानकारी ती चिकित्सकले बताए ।‘जुन नसा ब्लक हुँदा उहाँको हिजोको समस्या देखिएको थियो, त्यो नसा खोलेका छौं । अन्य नसा पनि ब्लक छ । त्यसलाई पनि खोल्नुपर्ने हुन्छ,’ ती चिकित्सकले भने । चिकित्सकका अनुसार उनको अवस्था सामान्य बन्दै गएको छ । स्वास्थ्य अवस्था थप सुधार भएपछि उनलाई सामान्य वार्डमा सारिने तयारी छ ।

