काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिए। संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उहाँनको भनाई छ । उनले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताए ।
संघीयता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता रहेकाे उनले औँल्याए । संघीयता छरितो बनाउनको लागी चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए । चालु खर्च कम गर्नको लागि सरकारी संरचनालाई डिजिटलाईजेशन गर्नुको विकल्प नभएको उनले बताए ।
प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज गर्नसके नेपालको चालु खर्च दुई तिहाई कटौती हुने उनको दाबी छ । उनले प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको बताए । प्रविधिको प्रयोगलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न कानूनी स्पष्टता जरुरी रहेको उनको भनाई छ ।कानून निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उनले स्पष्ट पारे। सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने कुरामा समस्या नरहेपनि दर्ताको नाममा बन्द गरिने कार्य भने सह्य नहुने उनले बताए । नागरिकको स्वतन्त्रता हनन हुनेगरी कुनै कानून बनाउन नहुने उनकाे भनाइ छ।

