काठमाडौं । मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम फेर्न सकिने वा नसकिने विषयमा बहस सुरु भएको छ । खासगरी नेपाली कांग्रेसमा विशेष महाधिवेशन भएपछि यो विषय सतहमा आएको छ ।निर्वाचन आयोगका कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनयन पत्रमा हस्ताक्षर गर्ने उल्लेख छ । विशेष महाधिवेशन पक्षधरले उनको हस्ताक्षरलाई नमान्ने भनेको खण्डमा के हुन्छ भन्ने प्रश्न उब्जिएको हो ।निर्वाचन आयोगका अनुसार मनोनयन पत्रमा हस्ताक्षर गर्ने व्यक्तिको नाम फेर्न सकिन्छ । तर, यसका लागि सम्बन्धित दलले आधिकारिक रुपमा निर्णय गरेर पठाउनुपर्छ र त्यसलाई निर्वाचन आयोगले स्वीकृति प्रदान गर्नुपर्छ ।आगामी २१ फागुनमा लागि हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कुन दलको कसले मनोनयनपत्रमा हस्ताक्षर गर्ने भनेर निर्वाचन आयोगले संकलन गरिसकेको छ ।
प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १९ मा मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारी सम्बन्धी व्यवस्था छ ।जहाँ भनिएको छ, ‘दलले आफ्नो तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीलाई तोक्नु पर्नेछ ।’त्यस्तो पदाधिकारीको नाम, थर, पद र उसको दस्तखतको नमूना दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने मिति अगावै निर्वाचन आयोगमा बुझाउनुपर्छ ।
प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपातिक तर्फको मनोनयन यही पुस १३ र १४ मा भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आगामी माघ ६ गतेका लागि तोकिएको छ ।निर्वाचन आयोगले मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारीको दस्तखत नमूना सहितको विवरण मनोनयन पत्र दर्ता गर्न तोकिएको मिति अगावै सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाइसक्नु पर्छ । यसकारण उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने मिति अगावै निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ ।
यस प्रावधान अनुसार निर्वाचन आयोगले गत मंसिर १ गतेदेखि १४ गतेसम्म मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारीको नाम र हस्ताक्षर नुमना संकलन गरेको थियो ।अब त्यस्तो व्यक्तिको नाम फेर्न चाहेको खण्डमा के हुन्छ भन्ने प्रश्न उब्जिएको हो ।निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका एक अधिकारीका अनुसार मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम फेर्न चाहेको खण्डमा त्यसको कारणसहित निवेदन दिन सकिन्छ । पार्टी एकीकरण भएको वा अन्य कारणले विवरण अद्यावधिक गर्नु परेको हो भने त्यसलाई आयोगले अध्ययन गरेर निर्णय दिनेछ ।कुनै पनि पार्टीले आधिकारिक रुपमा निर्णय गरेर पठायो र त्यसलाई निर्वाचन आयोगले स्वीकृति दियो भने मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम फेरिन सक्छ’ एक अधिकारीले भने ।
यसबीचमा पार्टी एकीकरण भएपछि कतिपय दलका विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन समेत पुगेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)बीच एकीकरण भएको छ । एकीकरण पछि दलको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको छ ।गत आइतबार मात्रै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच एकीकरण सम्झौता भएको थियो । एकीकरणपछि पार्टीको नाम जसपा नेपाल राखिएको छ । पार्टीको चुनाव चिह्न छाता राखिएको छ ।नवगठित पार्टीको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।दुई पार्टी एक भएपछि लोसपाले समानुपातिकतर्फ दिएको उम्मेदवारी फिर्ता लिएको छ । लोसपाका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन लगाएर जसपाको समानुपातिक सूचीमा राखिएको छ ।दलको विवरण हेरफेरको निवेदनउपर भने निर्वाचन आयोग अध्ययनमा छ ।
ADVERTISEMENT

