बाँके । हुण्डी कारोवारमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेष अझैँ हिरासतमा छन् । अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि विभिन्न मुद्धामा अनुसन्धान गर्ने नाममा बाँके प्रहरीले हिरासतमा राखेको उच्च अदालत बार एशोसियशन, नेपालगन्जका अध्यक्ष पवनकुमार गुप्ताले बताए । उनले अदालतले धरौटीमा छाड्न भनेको १५ दिन वितिसक्दासमेत प्रहरीले सम्पत्ति शुद्धिकरणको नाममा नेता शेषलाई हिरासतमा राखेको बताए । ‘प्रहरीले अदालतको आदेश पालना गर्नुपर्ने हुन्छ, तर धरौटी बुझाउँदासमेत छाड्न मानेको छैन । यो कानुनको उपहास हो,’ उनले भने, ‘शेषलाई हिरासतमा राख्नु गैरकानुनी र बदनियतपूर्ण छ ।’
कानुन ब्यवसायी निर्दिप कुमार श्रेष्ठले पनि शेषलाई अदालतको परिसरबाट पक्राउ गर्नु कानुन विपरित भएको बताए । उनले धरौटी राखेर छुट्दासमेत प्रहरीले दुख दिने मनशायले पुन पक्राउ गरेको बताउँदै उनले एउटै मुद्धामा दुई पटक पक्राउ गर्न नमिल्ने प्रावधान रहेको बताए । ‘प्रहरीले पुनः पक्राउ गरेपछि बन्दी प्रत्यक्षिकरणका लागि उच्च अदालत तुलसीपुर इजलाश नेपालगन्जमा निवेदन दिएका छौँ,’ उनले भने ।उनले शेषलाई बदनियत पूर्ण तरिकाले फसाइएको बताए ।
प्रहरीले गरेको क्रियाकलाप उचित भएन भन्ने हाम्रो बुझाई छ,’ उनले भने ।इरफानका दाजु रियाज अहमद शेषले पनि आफ्नो भाई निर्दोष भएको जिकिर गरेका छन् । उनले काठमाडौँ जाने तर्खर गरिरहेका बेला प्रहरीले पक्राउ गरि मुद्धा चलाएको बताए । ‘भाईलाई छुटाउन सर्वसाधारणसँग चन्दा संकलन गरि १५ लाख रुपैयाँ धरौटी रकम जम्मा गरेका छौँ । निर्वाचनमा भाग लिनबाट बन्चित गराउन यो चाल चालिएको हो भन्ने हाम्रो ठम्याई छ,’ उनले भने । बाँके प्रहरीले शेषलाई हुण्डी कारोवार गरेको भन्दै दाङको अमिलियाबाट पक्राउ गरेको थियो ।
ADVERTISEMENT

