सिरहा । प्रादेशिक अस्पताल लहानको शवगृहमा पोस्टमार्टमका लागि राखिएको १६ वर्षीया किशोरीको शव साटिएको घटनामा छानबिन गर्न समिति गठन भएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि मेडिकल सुपरिटेन्डेन्टलाई केही समय जिम्मेवारी बहन नगरी बिदामा बस्न निर्देशन पनि दिइएको छ । त्यस्तै, शवगृहको जिम्मेवारीमा रहेका कर्मचारीलाई पनि जिम्मेवारीबाट हटाइएको हो ।
गोलबजार नगरपालिका–३ निवासी पूर्णबहादुर बानियाकी छोरी निशा माघ १० गते आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि सोही दिन शव रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहान पठाएको थियो ।उही दिन अस्पतालमा सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया राधिका साहको शव पनि पोस्टमार्टमका लागि ल्याइएको थियो । पोस्टमार्टमपछि एउटा शव बाहिर निकालिएको थियो, जुन राधिकाको भएको भन्दै उनका आफन्तले बुझेर दाहसंस्कार गरेका थिए ।
तर पछि उक्त शव राधिकाको नभई निशाको भएको खुलेको हो ।शनिबार नै शव अस्पताल पुर्याइए पनि प्रहरी र अस्पताल प्रशासनले परिवारका सदस्य आएपछि मात्रै पोस्टमार्टम प्रक्रिया अघि बढाइने बताएका थिए ।सोमबार बिहान निशाका आमा–बुबा भारतको मुम्बइबाट आएपछि दिउँसो करिब १ बजे पोस्टमार्टमको तयारी गरिएको थियो ।तर त्यसबेला शवगृहमा रहेको शव निशाको नभई राधिका साहको भएको खुलेपछि घटना सार्वजनिक भएको हो । यससँगै राधिकाकै परिवारले निशाको शव दाहसंस्कार गरिसकेको तथ्य पनि बाहिर आएको छ । घटनापछि पीडित पक्षले न्यायको माग गर्दै पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरी आन्दोलन गरेका थिए । प्रशासनको पहलपछि आन्दोलन फिर्ता लिइएको र सडक यातायात सुचारु गरिएको जनाइएको छ ।

