पोखरा — कांग्रेस सभापति गगनकुमार थापाले देश सम्हाल्ने र व्यवस्थालाई सुधार्ने जिम्मेवारी आफ्नो पार्टीले पूरा गर्ने बताएका छन् ।कांग्रेस कास्कीको पार्टी कार्यालयमा शुक्रबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमा नेपाललाई मिलाउने र सम्हाल्ने शक्तिको आवश्यकता रहेको बताए ।उनले कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभएर संकटको बेला देशलाई निकास दिने राष्ट्रिय शक्ति भएको बताए । ‘आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ, त्यो ताकत हामीले राख्नु पर्नेछ,’ उनले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई, त्यो कांग्रेस हो ।’
आफ्नो सम्बोधनका क्रममा उनले राष्ट्रिय पार्टी र राष्ट्रिय शक्तिबीचको भिन्नता प्रस्ट्याए । उनले भने, ‘राष्ट्रिय पार्टी हुनु र राष्ट्रिय शक्ति हुनुमा फरक छ । राष्ट्रिय पार्टीले चुनाव जित्ला, सरकार बनाउला तर राष्ट्रिय शक्तिको जिम्मेवारी भनेको एउटा अभिभावकका रूपमा राष्ट्रका समस्या चिन्ने र त्यसलाई सम्बोधन गर्ने संकल्प गर्नु हो ।’बीपी कोइरालाको मेलमिलाप नीति र २०६० सालको हिंसा अन्त्य गर्न कांग्रेसले खेलेको भूमिका स्मरण गर्दै उनले भने, ‘२०३३ सालमा बीपीले ज्यानको बाजी लगाएर देश जोगाउन राजासँग हात मिलाउनु वा २०६० सालमा आफ्नै छातीमा गोली हान्ने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु कांग्रेसको राष्ट्रिय शक्तिको चरित्र थियो । आज फेरि देशलाई त्यस्तै सम्हाल्ने शक्तिको खाँचो छ । हाम्रो पार्टीको चरित्र नै मिलाउने हो, हामी घृणा वा प्रतिशोधको राजनीति गर्नै सक्दैनौं ।’
वर्तमान समयमा नागरिकमा राज्यका संस्थाप्रति चरम अविश्वास रहेको स्वीकार गर्दै उनले अबको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड दिए । ‘नागरिकहरू रिसाएका छन्, किनकि उनीहरूले हरेक समस्याको जडमा भ्रष्टाचार देखेका छन्,’ उनले भने, ‘म जादुको छडीमा विश्वास गर्दिनँ, तर नेताको सफा नियत र ठीक नीति भयो भने परिणाम आउँछ । नेपालमा भ्रष्टाचार हट्छ र नेपाल अगाडि बढ्छ भन्ने संकल्पका साथ कांग्रेस अब भ्रष्टाचारविरुद्धको योद्धा बनेर अघि बढ्छ ।’ निर्वाचनको प्रसंगमा थापाले अब कांग्रेसले कुनै पनि चुनावी तालमेल नगर्ने र कार्यकर्ताले निर्धक्क भएर आफ्नो चुनाव चिहृनमा मतदान गर्न पाउने बताए ।पार्टीलाई नयाँ र पुरानो पुस्ताको संगम बनाउनुपर्ने बताउँदै उनले ‘जेन–जी’ भनिने नयाँ पुस्तालाई कांग्रेसमा आकर्षित गर्नुपर्ने बताए । ‘नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो,’ उनले थपे, ‘सामाजिक सञ्जालको भ्युज र लाइक्समा मात्र अल्झिएर हुँदैन, हाम्रो वास्तविक तागत संगठन हो । प्रत्येक घरमा पुगेर नागरिकको आलोचना सुन्ने र उनीहरूलाई बुझाउने धैर्यता हामीले राख्नुपर्छ ।
पार्टीभित्रका आन्तरिक विवाद र गुटबन्दी अन्त्य भएको घोषणा गर्दै सभापति थापाले सबैलाई एकढिक्का हुन आह्वान गरे । ‘अधिवेशनका अध्यायहरू सकिए, अब कोही काखा र पाखा हुँदैनन् । हिजो कसले कहाँ उभिएर कसलाई समर्थन गर्यो, नेतृत्वको आँखामा त्यसको अब केही अर्थ छैन । सबैलाई समान व्यवहार हुन्छ,’ उनले भने, ‘बाहिरिएका र मन दुखाएका साथीहरूलाई घर फर्काउने अभियानमा लाग्नुहोस् ।कांग्रेस चुनावमा सबै १ सय ६५ क्षेत्रमा एक्लै लड्ने एक मात्र पार्टी भएकोले दायाँ–बायाँ नहेरी रूखमा केन्द्रित रहन उनले कार्यकर्तालाई आग्रह गरे । ‘कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा यो कांग्रेसमा स्वीकार्य हुँदैन । त्यसैले काहीँ कतै कोही कुनै अलमलो नपरोस् । कास्कीको तीनवटै क्षेत्र, गण्डकीको अठारै क्षेत्र सबै ठाउँमा रूख, रूख, रूख... रूख बाहेक अरू केही पनि छैन,’ उनले भने, ‘यही सन्देश लिएर तपाईंहरू जानुहुन्छ भन्ने विश्वास राख्दै, मैले साथीहरूलाई भनेको छु, अस्ती मधेसमा जाँदै गर्दा अबकी बार यो सरकार नारा लाउनु छोड्दिनुहोस् । नारै लाउने भए अबकी बार सयपार भनेर नारा लाउनुहोस् । त्यहाँ पुर्याउने यो पार्टी।’

