काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।शुक्रबार संघीय संसद भवनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उनले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘वन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहकार्य गरेर नेपाली काठ उद्योगमा आधारित उद्योगहरूलाई बढावा दिने साझा सहमति भइसकेको छ । यसलाई कार्यान्वयनको पक्षमा पनि केही गृहकार्य हुँदैछ । वाइल्डलाइफ टुरिजम पूर्णतः वन क्षेत्रकै योगदानको कारणले हो । वन मन्त्रालयबाट पुग्ने योगदानकै कारणले हामीले ठूलो मात्रामा वैदेशिक मुद्रा, राष्ट्रिय आय र राजश्व प्राप्त गर्दछौं ।’मन्त्री खनालले वनको क्षेत्रफल बढेकोमा मात्र खुसी नभई, त्यस अनुरूप मुलुकको अर्थतन्त्रमा वनलाई क्षति नपुग्ने गरी कसरी योगदान पुर्याउन सकिन्छ भन्ने विषयमा आगामी कार्यक्रम र नीतिहरू निर्देशित हुनुपर्नेमा जोड दिए ।
ADVERTISEMENT

