बर्दिया : रोजगारी अभाव र वैदेशिक पलायनको दबाब बढिरहेका बेला बर्दियामा युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने प्रयास सुरु गरिएको छ ।प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाँके यूनेस्को क्लबले ‘सपना सजाइली, योजना बनाइली, पैसा कमाइली’ कार्यक्रममार्फत युवालाई उद्यमशीलतामा जोड दिएको हो ।जिल्लामा अधिकांश युवा अनौपचारिक रोजगारी वा वैदेशिक श्रममा निर्भर भइरहेका बेला सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय स्तरमै आयआर्जनका अवसर खोज्न प्रेरित गरेको छ ।पाँचदिने ‘युवा उद्यम विकास तालिम’मा सहभागी युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक सीप र ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ ।तालिममा सहभागीहरूले बजार विश्लेषण, व्यवसाय योजना, लागत तथा मूल्य निर्धारणदेखि डिजिटल प्रचारप्रसार र कानुनी प्रक्रियासम्मका विषयमा ज्ञान हासिल गरेका छन् । साथै, व्यवहारिक अभ्यासमार्फत सुँगुर र बाख्रा पालनजस्ता व्यवसायिक सम्भावनामा पनि अभ्यास गराइएको थियो ।
विशेषगरी युवतीहरूको उच्च सहभागिताले महिलामा उद्यमशीलता विकासको सम्भावना देखाएको छ । ४९ सहभागीमध्ये ४५ जना महिला हुनु उल्लेखनीय रहेको आयोजकले जनाएको छ ।बर्दियामा कम उत्पादनशील कृषि, ज्यालादारी श्रम र विप्रेषणमा निर्भर अर्थतन्त्रका कारण रोजगारीका अवसर सीमित छन् । यस्तो अवस्थामा उद्यमशीलता प्रवद्र्धनलाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ ।कार्यक्रमका वक्ताहरूले युवालाई विदेश जानुभन्दा स्वदेशमै अवसर सिर्जना गर्न आग्रह गरेका छन् । उनीहरूका अनुसार यस्ता तालिमले युवामा आत्मविश्वास बढाउने मात्र होइन, स्थानीय अर्थतन्त्र मजबुत बनाउन पनि सहयोग पुग्नेछ ।
ADVERTISEMENT

