बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय सम्पदा सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग माग गरेका छन् । बुटवलमा आयोजित जितगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न आवश्यक रहेकाले प्रदेश सरकारले समेत पहल गरिरहेको बताए ।
इतिहासअनुसार कर्णेल उजिरसिंह थापाले विजय प्राप्त भएमा भगवती मन्दिर निर्माण गर्ने भाकल गर्नुभएको थियो । विजयपछि पाल्पामा मन्दिर निर्माण गरिएको र हालसम्म भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ । चुरे पर्वतको काख र तिनाउ नदीको पश्चिम किनारमा रहेको जीतगढी किल्ला सेनकालीन समयमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धपछि विजयको प्रतीकका रूपमा यसको नाम जितगढी रहन गएको हो

