काठमाडौं — व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई नक्साल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले बताए । गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको र अनुसन्धानका लागि बिहिबार नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।सोही प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरेको बुझिएको छ ।
ADVERTISEMENT

