काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा विचार आदानप्रदान भएका छन् ।भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जनाएको छ । उनले ‘एक चीन नीति’प्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विषयमा सरकार स्पष्ट रहेको बताए ।सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रविधि प्रवर्द्धनमा केन्द्रित रहेको उल्लेख गर्दै यसमा चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको बताए । उनले सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै राजनीतिक सङ्क्रमणकालमा चीनले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गरे ।
राजदूत माओमिङले चीनले नेपाललाई महत्त्वपूर्ण छिमेकीका रूपमा लिँदै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्नुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।राजदूत माओमिङले चीन–नेपाल सहकार्यअन्तर्गत पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन तथा विकास परियोजनाहरूमा सहकार्य बढाउन तयार रहेको उल्लेख गर्दै सङ्घीय संसद् सचिवालयलाई विद्युतीय सवारीसाधन सहयोग गरिएको जानकारी दिए । साथै, उनले सभामुख, सांसद तथा संसदीय पदाधिकारीहरूलाई चीन भ्रमणको निम्तासमेत दिए । –रासस

