बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ ।उपमहानगरपालिकाले सडकपेटी कब्जा गरेर बनाइएका अवैध संरचनालाई धमाधम हटाएर नयाँ स्वरूपमा फुटपाथ निर्माण गरिरहेको छ । अहिले गणेशमानचोकदेखि सुर्खेतरोडको पश्चिमतर्फ बीपीचोक हुँदै धम्बोझी चोकसम्मको क्षेत्रमा सडकपेटी निर्माण कार्य सम्पन्न भइसकेको छ । हिजो भद्रगोल क्षेत्र अहिले सफा, व्यवस्थित र चिटिक्क देखिएको छ ।
सुर्खेतरोडको पश्चिमतर्फको नालादेखि सात फिटसम्मको अतिक्रमित फुटपाथ क्षेत्र खाली गराएर नयाँ निर्माण गरिएको हो । यो सडकपेटी निर्माण केवल हिँड्नका लागि मात्रै नभई सहरको दीर्घकालीन सौन्दर्य र सबै नागरिकको पहुँचलाई ध्यानमा राखेर डिजाइन गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।
स्थानीय सरकारको यो कदमबाट नेपालगञ्जका बासिन्दा तथा नागरिक समाज निकै उत्साहित देखिएका छन् । सडकपेटी व्यवस्थित भएसँगै बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम घट्ने र सहरी सौन्दर्यता बढ्ने उनीहरूको विश्वास छ ।
कुनै समय नेपालगञ्जको मुख्य सडक सुर्खेतरोडको किनारैकिनार हिँड्ने पैदलयात्रीहरू सधैँ त्रसित हुन्थे । सडकपेटी फुटपाथत थियो, तर त्यहाँ न मानिस हिँड्ने ठाउँ थियो, न त सहज रूपमा पाइला टेक्न नै मिल्थ्यो । व्यापारीका सामान, ठेलागाडा र अवैध रूपमा ठडिएका भौतिक संरचनाले फुटपाथ पूर्णरूपमा कब्जामा थियो । पैदलयात्रीहरू बाध्य भएर गुडिरहेका गाडीकै बीचबाट जोखिमपूर्ण रूपमा मूल सडकमा हिँड्नुपर्थ्यो ।अहिले नेपालगञ्जको यो परिदृश्य बदलिएको छ । सडक किनारका अवैध संरचनामाथि स्थानीय सरकारले डोजर चलाएपछि सुर्खेतरोडले नयाँ र आधुनिक रूप लिन थालेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

