राम्रो गर्नेलाई पुरस्कृत र बदमासी गर्नेलाई दण्डित गर्ने छु : एसपी मिश्र
Dipu
२०८१ माघ १७,
24
Shares
वीरगंज - पर्साका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जिल्लामा अपराध र तस्करी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निष्पक्ष र इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।
एसपी मिश्रले १८ वर्षअघि पनि पर्सामा सेवा गरेको स्मरण गर्दै ०६२/६३ को आन्दोलन र मधेश आन्दोलनका क्रममा वीरगंजमा रहेकाले यहाँको सुरक्षा अवस्था राम्रोसँग बुझेको बताए। पर्सा जिल्ला औद्योगिक कोरिडोर भएकाले यहाँको सुरक्षालाई थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिए । उनले भने “राम्रो गर्नेलाई पुरस्कृत र बदमासी गर्नेलाई दण्डित गर्ने छु । मेराे कार्यकालमा पर्सा प्रहरी कसैकाे प्रभाव र दबावमा पर्दैन ।” उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सामुदायिक प्रहरी संगको सहकार्यमा गाउँदेखि वडा स्तर सम्म पुर्याउने वताए ।
उनले विशेष गरि साम्प्रदायिक तथा धार्मिक द्वन्द्व मात्र नभई आर्थिक अपराध, बैंकिङ कसुर, साइबर अपराध, चेक बाउन्स तथा ठगी जस्ता घटनाको वृद्धि भएको उल्लेख गर्दै तिनलाई नियन्त्रण गर्ने योजना अघि बढाउने बताए। साथै, बालविवाह, बहुविवाह, लैंगिक हिंसा, घरेलु मदिरा उत्पादन तथा लागूऔषधको कारोबारजस्ता सामाजिक अपराध न्यूनीकरण गर्न गाउँस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।
वीरगंज नाकाबाट हुने लागूऔषध तस्करीलाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय एसएसबी तथा राजस्व चुहावट नियन्त्रण निकायहरूसँग सहकार्य गर्ने प्रतिबद्धता उनले जनाए। साथै, विद्यालय तथा स्थानीय तहहरूसँग मिलेर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको बताए ।
प्रविधिको प्रयोग बढेसँगै साइबर अपराध, आर्थिक कारोबारमा ठगी तथा बैंकिङ कसुरका घटना बढेको बताउँदै उनले यस्ता अपराध नियन्त्रणमा विशेष ध्यान दिने उल्लेख गरे। साथै, बलात्कार, अपहरण र हत्या जस्ता गम्भीर आपराधिक घटनामा कुनैपनि व्यक्तिलाई पूर्वाग्रह नराखी कारबाही गर्ने प्रतिबद्धता जनाए ।