काठमाडौं २३ असार,। राष्ट्रियसभाको आजको बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उनले भण्डारण गर्न, किन्न र बेच्न पनि सबैले नपाउने कानुन बनाउन लागिएको जानकारी दिँदै सहजरुपमा उपलब्ध हुँदा विकृति बढेको बताए । बैठकमा सांसदहरुले महिलामाथि तेजाब आक्रमणजस्ता गतिविधि हुने गरेकाले रोक्नका लागि यो ऐन बनाएर छिट्टै कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार २८ गते बिहान ११ बजे बस्नेछ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् । उक्त विधेयकका विषयमा गृहमन्त्री खाणले महिला र बालबालिकामाथि हिंसा बढ्दै गएकाले कारबाही र नियमन गर्नका लागि यो बनाउनुपरेको बताए ।