काठमाडौँ । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेको छ।साथै, सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन आफ्ना नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
कांग्रेसले अहिलेको अवस्थामा थप हिंसा र क्षति हुन नदिन सबै पक्षलाई धैर्य, संयम र संवादको बाटो अपनाउन अपिल गरेको छ। अफवाह फैलाएर सामाजिक सद्भाव बिगार्ने तथा साम्प्रदायिक हिंसा भड्काउने प्रयासप्रति सचेत रहन आग्रह गर्दै उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरेको छ।त्यसैगरी, पार्टीले आफ्ना सबै समिति, नेता तथा सदस्यहरूलाई पीडित परिवारलाई सहयोग गर्न, घाइतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिएको छ। साथै, सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न भए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।
ADVERTISEMENT

