कागजमा मात्रै होइन, व्यवहारमै निःशुल्क उपचार नेपालगञ्जमा ९४ शैया व्यवस्था
zeenepal
२०८३ श्रावण २८,
39
Shares
नेपालगञ्ज २८ साउन ः नेपालगञ्ज उपमहानगरपालिकले पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले भने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालमा उपलब्ध गराइएको निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमनलाई तीव्रता दिएको बताए । नेपालको संविधान २०७२ को धारा ३५ (१) ले नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक सुनिश्चित गरेको तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ ले विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालको कुल शैयाको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नगर स्वास्थ्य ऐन,२०७९ को दफा २८ को उपदफा १ ले समेत सोही व्यवस्थालाई समेटेको भन्दै उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सूचीकृत निजी तथा सरकारी अस्पतालमा कुल ९४ वटा निःशुल्क शैया व्यवस्था गरिएको जानकारी दिएको छ । उपमहानगरपालिकाका अनुसार निःशुल्क स्वास्थ्य सेवा नागरिकको अधिकार भएकाले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुनेमा जोड दिइएको छ। १० प्रतिशत निःशुल्क शय्याको व्यवस्था कागजमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । निःशुल्क उपचारको सुविधा वास्तविक लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गर्न अस्पतालहरूको नियमित अनुगमन गरिरहेको बताए । सेवाको दुरुपयोग हुन नदिनसमेत कडाइका साथ निगरानी गरिने उपमहानगरपालिकाले जनाएको छ । त्यसैगरी,प्रत्येक अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्ष हेल्प डेस्क तथा जिम्मेवार फोकल पर्सनको व्यवस्था गरिएको छ ।
निःशुल्क शय्याको दैनिक उपलब्धताबारे नागरिकले सहज रूपमा जानकारी पाउन सक्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाको भनाइ छ । निःशुल्क स्वास्थ्य सेवा लिन आवश्यक प्रक्रिया तथा जानकारीका लागि निःशुल्क एआई कल नम्बर ९७०२६९७७७२ सञ्चालनमा रहेको जनाइएको छ । सेवा प्राप्त गर्न समस्या भएमा वा सेवा नपाएको अवस्थामा गुनासो सुनुवाइ अधिकारीको मोबाइल नम्बर ९८५८०४६२२० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । उपमहानगरपालिकाको टोलीले अस्पतालमा पुगेर निःशुल्क स्वास्थ्य सेवासम्बन्धी सूचनामूलक ब्यानर राख्ने तथा सेवाको अवस्थाबारे अनुगमन गर्ने अभियानसमेत सुरु गरेको छ । उपमहानगरपालिकाले गत २०८३÷०३÷२९ गते निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिसँग अभिमुखीकरण तथा समन्वय बैठक सम्पन्न गरी निःशुल्क उपचारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको बताए । २०८३ भदौ १ गतेदेखि सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिएको उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरपालिकाले सञ्चारकर्मीहरूलाई समेत निःशुल्क स्वास्थ्य सेवासम्बन्धी सही सूचना नागरिकसम्म पु¥याउन सहयोग गर्न आग्रह गरेको छ । गलत सूचना वा पहुँचका आधारमा सेवाको दुरुपयोगलाई स्वीकार नगर्ने स्पष्ट धारणा उपमहानगरपालिकाले राखेको छ । उपमहानगरपालिकाले निःशुल्क स्वास्थ्य सेवा वास्तविक लक्षित वर्गसम्म पु¥याउनु स्थानीय सरकारको जिम्मेवारी भएको भन्दै यसका लागि अस्पताल, सञ्चारकर्मी र नागरिक सबैको सहकार्य आवश्यक रहेको जनाएको छ ।