काठमाडौँ — नेपाल र साउदी अरबबीच औपचारिक रूपमा द्विपक्षीय हवाई सेवा सम्झौता सोमबार भएको छ । दुवै देशका प्रतिनिधिमण्डलबीच भएको द्विपक्षीय वार्तापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र साउदी अरबका सम्बन्धित उड्डयन अधिकारीबीच आइतबार सम्झौतामा हस्ताक्षर भएको हो ।सम्झौतामा नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्य र साउदी अरेबियन प्रतिनिधिमण्डलका प्रमुख, एयर ट्रान्सपोर्ट एण्ड इन्टरनेशनल को-अपरेसनका डेपुटी एक्जिक्युटिभ प्रेजिडेन्ट अली मोहम्मद रजाबले हस्ताक्षरले हस्ताक्षर गरेका छन् ।सम्झौताले दुवै देशका तोकिएका वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयनसम्बन्धी मापदण्डअनुसार नियमित यात्रु तथा कार्गो उडान सञ्चालनका लागि कानुनी र संस्थागत आधार प्रदान गर्नेछ ।
नेपाल र साउदी अरबबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार, लगानी तथा दुई देशबीचको आर्थिक सम्बन्ध प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । साथै, दुवै देशका नागरिक तथा रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकको आवागमन थप सहज हुने विश्वास गरिएको छ ।सरकारले यो सम्झौताले नेपाल–साउदी अरबबीचको कूटनीतिक तथा जनस्तरको सम्बन्धलाई समेत थप मजबुत बनाउने अपेक्षा गरेको छ ।
ADVERTISEMENT

