काठमाडौं — गत बुधबार रसुवामा आएको भोटेकोशी बाढीपछि सिन्धुपाल्चोकका २३४ जना सम्पर्कविहीन रहेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार सम्पर्कविहीन हुनेमा एउटै पालिकाका ७० जना छन् । प्रशासन कार्यालयले उपलब्ध गराएको सूचीअनुसार १२ स्थानीय तहमध्ये दुईबाहेक सबै पालिकाबाट सम्पर्कविहीन भएका छन् ।यसैबीच सोमबार भोटेकोशी गाउँपालिकाले सोमबार आफ्नै खर्चमा सम्पर्कविहीन नागरिक खोज्न बाढीग्रस्त क्षेत्रमा निजी हेलिकोप्टर पठाउने निर्णय गरेको छ । उक्त पालिकाले सम्पर्कविहीनहरूको परिवारलाई २-२ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । कमाएर ल्याउने घरको मुली सम्पर्कविहीन भएकाले परिवारका सदस्यहरूलाई दैनिक खर्च अभाव हुने थालेपछि पालिकाले राहत स्वरुप उक्त रकम दिएको हो । सोमबार काठमाडौंमा पालिकाको आपत्कालीन बैठक बसेर उक्त रकम उपलब्ध गराउने निर्णय गरेको पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए । तातोपानी नाका बन्द भएकाले व्यापारका सिलसिलामा भोटेकोशीका स्थानीय रसुवा गएकाबेला बाढीमा परेर सम्पर्कविहीन भएका हुन् ।
भोटेकोशी-१ का वडाध्यक्ष नै सम्पर्कविहीन
भोटेकोशी गाउँपालिका–१ लिस्तीका वडाध्यक्ष राजु लामा पनि बाढीमा बेपत्ता भएका छन् । उनीसँगै उक्त वडाका २० जना सम्पर्कविहीन छन् । भोटेकोशी-२ बाट मात्रै २७ जना बेपत्ता भएका छन् ।भोटेकोशी-२ का कुमार श्रेष्ठका अनुसार व्यापारमा संलग्नहरू, कन्टेनर कर्मचारी र मानसरोवर जाने पर्यटकका लागि ट्राभल एजेन्सी सञ्चालन गरिरहेकाहरू सम्पर्कविहीन भएका हुन् । वडाध्यक्ष श्रेष्ठले भने, ‘लामो समयदेखि ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका स्थानीय पदम मगर र तीन जना भतिजासहित एउटै परिवारका ४ जना बेपत्ता भएका छन् ।'
वडाध्यक्ष लामाले पनि एजेन्सी सञ्चालन गर्दै आएका थिए । लामा २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । मानसरोवर जाने ग्रुप व्यवस्थापनका क्रममा उनी रसुवा नाका गएका थिए । चीनतर्फ जान विहान ९ बजे दुवै मुलुकको अध्यागमनमा राहदानीसहितको कागजात पेस गर्ने समय हो । त्यही समयमा लाइन लागेकाबेला बाढी आएको अनुमान गरिएको छ । मानसरोवर जाने धेरै भारतीय पर्यटक थिए । भूकम्पअघि तातोपानी नाका सञ्चालन भएकाबेला मानसरोवर जान अरनिको राजमार्ग प्रयोग गरिन्थ्यो । भूकम्पछि रसुवा नाकाबाट मानसरोवर जाने गरिएको छ । भोटेकोशी–३ का र ४ का ८-८ जना र वडा नम्वर ५ का ७ जना सम्पर्कविहीन छन् । पछिल्लो सूचनाअनुसार सम्पर्कविहीन हुनेमा लिसंखु पाखर गाउँपालिकाका ३ जना, हेलम्बु गाउँपालिकाका ४ र त्रिपुरासुन्दरी गाउँपालिकाका ५ जना रहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका र सुनकोशी गाउँपालिकाका १४-१४ जना, मेलम्ची नगरपालिकाका १३ जना, जुगल गाउँपालिकाका १९ जना, बलेफी गाउँपालिकाका ३३ जना, बाह्रबिसे नगरपालिकाका ५७ जना पनि सम्पर्कमा छैनन् । बाह्रबिसेका सम्पर्कमा नरहेका ५९ जनाको सूची सार्वजनिक गरेकोमा २ जना घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रशासनले बलेफी गापाका २९ जना र वडाले ३४ जनाको बेपत्ता सूची सार्वजनिक गरेको छ ।

