काठमाडौँ । हालै भोटेकोशी बाढीले निम्त्याएको महाविपत्तिमा अतुलनीय साहस देखाएर उद्धार, राहत तथा मानवीय सहयोग गर्ने व्यक्तिलाई प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सम्मान गरेको छ ।प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरको ४७ औँ वार्षिक साधारण सभा तथा ५१ औँ वार्षिकोत्सव समारोह ‘रेजिलियन्ट नेपाल’ भन्ने मूल नाराका साथ आयोजित विशेष समारोहमा बाढीपछिको उद्धार र पर्यटन पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्ने ७ जनालाई विशेष सम्मान गरिएको हो । सम्मानित हुने व्यक्तिहरुमा अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत संरचना विशेषज्ञ अस्ट्रेलियन प्राध्यापक आर्नल्ड डिक्स, नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन, प्रिया अधिकारी, ग्लोबट्रटरका लेखक तथा अध्यक्ष आन्द्रे लुथी, वल्र्ड सेन्ट्रल किचन डिलन डुगास, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, नेपाल पर्वतारोहण संघका पर्वतीय उद्धार संयोजक विक्रम कार्की, होरस डेभलपमेन्ट एण्ड कन्सल्टिङकी गन्तव्य रणनीतिकार चोय तेह छन् ।
महाविपत्तिमा यी व्यक्तित्वहरुले देखाएको शाहस, वीरता र मानवताले नेपालको पर्यटन उद्योगलाई कठिन घडीमा आशा जगाएको भन्दै कार्यक्रममा प्रशंसा गरिएको थियो । महाविपत्तिको समयमा बाढीमा फसेका व्यक्तिहरुको उद्धार तथा प्रभावित समुदायको मानवीय हितका लागि यी नायकहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै पाटा नेपाल उच्च सम्मान गर्दै कदरपत्र प्रदान गरेको थियो । पाटाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रदेव भट्टले पर्यटन पुनरुत्थान गर्न, प्रभावित समुदायलाई सहयोग गर्न तथा नेपालको पर्यटन उद्योगलाई अघि बढाउन काम गर्न उत्सुक भएको बताए ।

