काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताएका छन्। पार्टीको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताएका हुन्। महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक संकटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ।फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताए। राष्ट्रिय हितका महत्वपूर्ण विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि शर्माले जोड दिए। देशभित्र र देशबाहिर रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने भन्दै उनले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।
ADVERTISEMENT

