काठमाडौं । सभामुख डोलप्रसाद अर्याल आज तान्जानिया जाँदैछन् । असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औं महासभामा सहभागी हुन नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् उनी आइतबार बेलुका ७ बजे कताएर एयरवेजको क्यूआर ६४५ उडानमार्फत् दोहा हुँदै तान्जानिया प्रस्थान गर्ने कार्यक्रम छ । उक्त प्रतिनिधिमण्डलमा सभामुख अर्यालकी श्रमती अम्विका के.सी.सहित प्रतिनिधि सभाका रविन महतो, राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य छन् ।संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, संघीय संसद् सचिवालयका सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार पनि भ्रमण टोलीमा छन् ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद् महासचिव संघको बैठकमा संसदीय प्रणाली संरचना, कोष, र क्षमता निर्माण विषयमा प्रस्तुति दिनेछन् ।अन्तरव्यवस्थापिका संघको १५३ औं महासभा तथा सो सँग सम्बन्धित बैठकहरूमा सहभागिता जनाए सभामुख अर्याल पश्चात् केन्या जानेछन् ।केन्याका सभामुख डा.मोसेस एम. वेताङउलाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाली प्रतिनिधिमण्डलले केन्याको संसद्को औपचारिक भ्रमण गर्न लागेको हो ।केन्याको भ्रमण समेर प्रतिनिधिमण्डल असोज २७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

