काठमाडौँ । भारत र नेपालले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन् । दुवै देशका प्रधानमन्त्रीबिच सोमबार नयाँ दिल्लीमा भएको सहमतिअनुसार भविष्यको साझेदारीका लागि आर्थिक विकासदेखि ऊर्जा, पूर्वाधार, प्रविधि, शिक्षा, खेलकुद, पर्यटन, स्वास्थ्य र कृषिसम्मका १० वटा प्रमुख क्षेत्र निर्धारण गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबिच नयाँ दिल्लीमा भएको छलफलपछि संयुक्त दृष्टिकोण पत्र (ज्वाइन्ट भिजन) सार्वजनिक गरिएको हो ।
भ्रमणका क्रममा दुई देशबिचको सम्बन्धको समग्र समीक्षा गर्दै आगामी सहकार्यका प्राथमिकता तय गरिएको छ । जसमा नेपाल र भारतले १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी समझदारीका आधारमा पुनरवलोकन गर्न सकिने बताइएको छ ।
‘दुवै नेताहरूले द्विपक्षीय साझेदारीले समकालीन राजनीतिक, आर्थिक तथा प्राविधिक यथार्थलाई प्रतिबिम्बित गर्नुपर्ने र यो अद्यावधिक तथा भविष्योन्मुख कानुनी ढाँचामा आधारित हुनुपर्नेमा सहमति जनाउनुभयो । जहाँ सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिनेछ’, ज्वाइन्ट भिजन डकुमेन्टमा उल्लेख छ ।
त्यस्तै, जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमा सम्बन्धी लगायत बाँकी रहेका सबै विषयहरू आपसी छलफल र संवादका माध्यमबाट समाधान गरिने पनि उक्त डकुमेन्टमा उल्लेख छ ।

