काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल काठमाडौं भ्युटावर भत्काउनुपर्ने पक्षमा देखिएकी छन् ।पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले टावर भत्काइदिने योजना बनाइरहेका छन् ।
मेयर बालेन्द्रले भ्यूटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर पनि भत्काउने पक्षमा देखिएकी छन् । पत्रकारहरूसँगको भेटघाटमा उपमेयर डंगोलले काठमाडौं भ्यूटावर औचित्यहीन रहेको बताएकी हुन् । उनले महानगरको विवादको इपिसेन्टर बनिरहेको पुरानो बसपार्कको भ्युटावर अनावश्यक भएको बताइन् । प्रयोजन र उद्देश्यका लागि लिइएको हो त्यसैका लागि प्रयोग हुनुपर्ने भन्दै उपमेयर डंगोलले जनतालाई ढाँट्न नहुने स्पष्ट पारिन् ।
सटर बनाएर महानगरले व्यापार गर्न जरुरी नभएको उनको भनाइ छ । उनले बिल्डिङ र सटर बनाएर महानगरले जनतासँग व्यापार गर्नु जरुरी नभएको धारणा राखिन् ।उनले भनिन्,‘ जहिले पनि म पिपुल्स फस्टको पक्षमा हो । जनतासँग जे गर्छु भनेर लिइएको हो, त्यसैमा प्रयोग हुनुपर्छ मेरो स्पष्ट मान्यता छ । हिजोका मान्छे छैनन् भन्दैमा आजको पुस्तालाई थाहा छैन भनेर ढाँट्न पाइँदैन ।

