काठमाडौँ ५ साउन, वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारी भएको छ ।श्रम रोजगार तथा सामाजिकमन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच सो समझदारीमा हस्ताक्षर भएको हो ।
एनआरएनएले झन्डै एक दशकदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्न लबिङ गर्दै आएको थियो । श्रम सचिव अर्यालले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कार्य अघि बढाएको बताए । ‘संसद्मा नेपाल ऐन संशोधन गर्ने तयारी भइरहेको छ, त्यसमा विदेशमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी वैदेशिक रोजगार ऐन परिमार्जन हुँदैछ‚’ उनले भने, ‘कोषमा विदेशमा गएका कामदारलाई हेर्ने छुट्टै युनिट गठन हुनेछ ।’

