भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराए
zeenepal
२०८२ बैशाख ८,
30
Shares
नेपालगन्ज : भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई सोमवार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टोलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । भेरी अस्पतालको सेवा सुदृढीकरणको पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ ।उक्त समितिका सदस्य भास्कर काफ्ले, मोहित शाहसहित टेकबहादुर केसी सम्मिलित टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो । लाखौं लगानीको सिटीस्क्यान मेसिन जडान भई बिगतमा सञ्चालन भएपनि हाल बन्द रहेको छ । जसले गर्दा यहाँ आउने बिरामीले अन्यत्र सिटीस्क्यान गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता तत्काल हटाउन नयाँ सिटीस्क्यान मेसिन जडान वा मर्मतको काम तत्काल गर्न जोडदार गरिएको मिश्रले बताए ।
भेरी जस्तो ठूलो अस्पतालमा बेग्लै प्रसुती गृह छैन । जसका कारण धेरै गर्भवती महिलाले सहज तरिकाले उपचार पाउन नसकेको गुनासो गर्दै आएका छन् । त्यस्ता समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ । भेरी अस्पताल विस्तार गर्दै विशिष्टकृत सेवा, पूर्वाधारसँगै आवश्यक जनशक्तिका लागि स्थायी दरबन्दी व्यवस्थापन र पदपूर्ति अपरिहार्य बनेको छ । यसतर्फ ध्यानाकर्षण गराइएको मिश्रले बताए । ध्यानाकर्षण पत्रलाई मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले सकारात्मक रुपमा लिएको मिश्रले बताए ।