काठमाडौं ५ साउन । भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गरिने भएको हो ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको जानकारी दिए । उनले भने, “कुर्थादेखि १७.५ किलोमिटर रेल सञ्चालनका लागि लिक (पटरी) हल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल र भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी हुँदैछ ।” यद्यपि थप सेवा उद्घाटनको मिति भने टुङ्गो नलागेको उनले बताए ।
उनले यसअघि कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरिनुपर्ने भएकाले त्यो प्रक्रिया पनि अगाडि बढिसकेको बताए । महाप्रबन्धक झाले भारतीय इर्कन कम्पनीले करिब रु तीन करोड लागतमा बिजलपुरा खण्डको रेल मार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको जानकारी दिए । यस मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने उनले जानकारी दिए ।
सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो । भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएको भारतीय इर्कन इन्टरनेसनल कम्पनीले निर्माण थालेको थियो । जयनगरदेखि बर्दिवाससम्म ७० किलोमिटर छ ।