काठमाडौं साउन। गृहमन्त्री बालकृष्ण खाणले कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन् ।बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् ।
उनले अधिकांश कारागारहरु शहरको मध्य भागमा रहेको भन्दै ती कारागारहरुलाई ठूलो भू-भागमा स्थानान्तरण गर्ने तथा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन् ।उनले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरुलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उल्लेख गरे ।
उनले भने, ‘बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ । त्यसका लागि हामी प्रयत्नशील छौँ । अधिकांश बन्दी गृहहरु, कारागारहरु शहरबजारको मध्यभागमा नै छन् । मध्य भागका जेलहरुलाई बाह्य भू–भागमा, अलि ठूलो भूभागमा स्थानान्तरण गर्ने र नयाँ जेलहरुको निर्माण गर्ने त्यो योजनामा सरकार रहेको छ । जेलको
क्षेत्रफल पनि ठूलो होस् ।’विधेयकको सम्बन्धमा छलफलका क्रममा बोल्दै सांसद तुलसाकुमारी दाहालले यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिनु नहुने बताए । उनले सुत्केरीहरुलाई ९० दिनसम्म बाहिर बसेर स्याहार गर्ने व्यवस्था गर्नुपर्ने बताए।
युवाहरुलाई श्रम शिविरमा राखेर श्रम गराउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘कारागारका भौतिक संरचनाहरु राम्रा छैनन् । पानी चुहिने अवस्था छ । बन्दीहरुलाई क्षमताभन्दा बढी राख्ने गरिएको छ । कारागारमा राख्ने अपराधीहरुको स्थानहरु जुन उमेर छ, उमेरको हिसावले छुट गर्ने व्यवस्था गरिएको छ । खासगरी यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिइनुहुँदैन ।’