रेडक्रस स्थापना दिवसमा निःशुल्क रगत वितरण शुभारम्भ
zeenepal
२०७९ भाद्र १९,
3
Shares
नेपालगंज भाद्र नेपाल रेडक्रसको ६०औं स्थापना दिवसको अवसरमा निःशुल्क रगत वितरण कार्यक्रमको बाँकेमा शुभारम्भ भएको छ । दिवसका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेरेसो प्रादेशिक रक्तसंचार केन्द्र बाँकेको नयाँ भवन निर्माण र डिपीआरको लागि रु. ३ करोड बजेट व्यवस्था गरिएको जानकारी नेपाल रेडक्रसको ६०औं स्थापना दिवसमा गराउनु भयो । साथै भेरी अस्पतालमा उपचारका लागि भर्ना भई रगतको आवश्यकता परेका विरामीहरुलाई निःशुल्क रगत वितरण कार्यक्रमको शुभारम्भ पनि गर्नु भएको छ । मन्त्री राईले पश्चिम नेपालका २४ जिल्लाका गम्भीर अवस्थाका विरामीलाई रगत उपलब्ध गराउँदै एक मात्र संस्था रक्तसंचार केन्द्रको भवन निर्माणका लागि रेडक्रसका पदाधिकारीहरुले गरेको आग्रह अनुसार मन्त्रालयले सो रकम उपलब्ध गराउने निर्णय गरेको बताउनु भयो । लुम्बिनी प्रदेश सरकारसंगको सम्झौता अनुसार रेडक्रसले विरामीलाई निःशुल्क रगत वितरण गर्ने र लुम्बिनी सरकारले भेरी अस्पताल मार्फत रेडक्रसलाई भुक्तानी गर्ने व्यवस्था गरिएको बताइएको छ । नेपालगंज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दीन राईले रेडक्रसले सुरु गरेको निःशुल्क रगत वितरणबाट गरिब तथा असहाय विरामीलाई राहत मिल्ने बताउनु भयो । नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रक्तसंचार केन्द्रको भवन जिर्ण अवस्था रहेकोले चासो लिई आधुनिक भवन निर्माणका लागि अग्रसरता देखाउनु भएकोमा माननीय मन्त्रीलाई संस्थागत रुपमा धन्यवाद व्यक्त गर्नु भयो ।
परोपकारको–शक्तिमा–विश्वास (#Believe in the Power of Kindness)” भन्ने मुल नाराका साथ बाँके जिल्लामा विविध कार्यक्रमको आयोजना गरी नेपाल रेडक्रस दिवस मनाइएको छ । नेरेसो बाँके शाखा अन्र्तगत रहेका १७ वटा उपशाखाहरुले आ–आप्mनो स्थानीय कार्यक्षेत्रमा दिवसका अवसरमा खुला रक्तदान, प्रभातफेरी, रेडक्रस अभियान प्रचार प्रसार अभिमुखीकरण, हाजिरी जवाफ प्रतियोगिता, दिप प्रज्वलन, वृक्षारोपण, विरामीहरुलाई फलफुल वितरण, भूकम्प र आगो नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास, जुनियर तथा युवा रेडक्रस सर्कल गठन, कुर्सी दौड प्रतियोगिता र प्रवचन कार्यक्रमको आयोजना गरि दिवस मनाइएको उपशाखाका पदाधिकारीहरुले जानकारी दिनु भएको छ । प्रादेशिक रक्तसंचार केन्द्रमा आयोजित कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल लगायतले रेडक्रसको प्रशंसा गर्नु भएको थियो ।
नेरेसो बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले स्वागत मन्तव्य र नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी र भेरी अस्पतालका मे.सु. बद्री चपागाईले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता पत्र आदान प्रदान गर्नु भएको थियो भने कार्यक्रम संचालन नेरेसो बाँकेका कार्यालय प्रमुख दोलखबहादुर डाँगीले गर्नु भएको थियो । कार्यक्रममा नेरेसो बाँके शाखा र उपशाखाका पदाधिकारी, सदस्य, भेरी अस्पातल विकास समिति र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।