नेपालगञ्ज ।नेपालगन्ज उपमहानगरपालिका डुवानको समस्या समाधान गर्न सरकारी तहबाट थुप्रै प्रयास नभएको भने होइन । नगर डुवानको सम्भावित स्थानको खोजी र त्यसको समाधानका लागि यसअघि थुप्रै प्रयास भएका छन् । तर, समस्या ज्यूँका त्यूँ नै रह्यो । एडिबिको सहयोगमा नगर डुवानको समस्या समाधान गर्न सडक फराकिलो पारी पानी र ढल निकासीका लागि ठूला र चौडा नाला बनाइनुका साथै नयाँ नाला समेत निर्माण गरेकोले नेपालगन्ज डुवानको समस्या समाधान भएको नेपालगन्ज उपमहानगरपालिकाले पटक–पटक श्रेय लिन खोज्यो तर, असोजमा भएको लगातारको झरीले नेपालगन्ज जलमग्न र डुवानमा परेको छ ।
थोरै वर्षामा डुवानमा पर्ने नेपालगन्ज अविरल वर्षाका कारण नेपालगन्ज वडा नम्बर–२ घरबारी टोल, सेतुविकचोक, क्यूएफएक्स सिनेमाहल पछाडी, न्यूरोड, वागेश्वरी मन्दिर परिसर, बाइपास, कारकाँदो चोक र गगनगञ्ज लगायतका क्षेत्रमा डुवानमा परेको छ । अझ पानीको निकास नभएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ कारकाँदो चोकमा स्थानीयले चारलेन सडकमा जमेको पानीमा माछा समेत छोपेकाछन् । नगरपालिकाले नगर डुवानको समस्या सधैको लागि समाधान भएको उद्घोष गरिरहदाँ असोजमा भएको वर्षातले डुवान परेपछि नगरडुवानले उपमहानगरपालिकालाई कुरी–कुरी गरेकोछ ।
आईतबार बिहानदेखि वर्षा हुँदा नेपालगन्जमा १२७ मिलिमिटर र खजुरामा १३० मिलिमिटर वर्षा भएको छ । यो भारी बर्षा हो । विहानै देखि परेको पानीका कारण जिल्लाका विभिन्न स्थानमा डुवान हुनुका साथै जलमग्न भएकोछ । जिल्लाका सिमलघारी, उढरापुर, बेतहनी, सीतापुर, कोहलपुर, फत्तेपुर, नरैनापुर लगायतका क्षेत्रमा डुवानमा परेकाछन् ।पानीको निकास नभएपछि कतिपय स्थानमा स्थानीयले सडक खनेर पानीको निकास समेत गरेका छन्
। हाल देशका अधिकांस भागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ ।सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा सकिन्छ ।विगतलाई हेर्दा मनसुनको अवधि लम्बिएको छ । सन् २०१३ मा त अक्टुबर १९ मा मात्र मनसुन अन्त्य भएको थियो ।