नेपालगन्ज : राष्ट्र बैंकको ‘अब्यवहारिक नीति’ का विरुद्ध नेपालगन्जका उद्योगी, ब्यवसायीले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । आन्दोलन स्वरुप यहाँका उद्योगी ब्यवसायीले राष्ट्र बैंक कार्यालय नेपालगन्जमा धर्ना लगायतका कार्यक्रम गरेका हुन् ।
उद्योगी, ब्यवसायीको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा सोमबार बिहान उद्योगी ब्यवसायीले धर्ना दिएका थिए । करिव एक घण्टासम्म राष्ट्र बैंक नेपालगन्जको कार्यालय अगाडी धर्ना दिएका उनीहरुले विभिन्न नाराबाजी समेत गरे । धर्नाका क्रममा केन्द्रिय सदस्य चक्र अधिकारी, संघका पदाधिकारी, पुर्वअध्यक्ष तथा पदाधिकारी लगायत नेपालगन्जका उद्योगी, ब्यवसायीहरु ठुलो संख्यामा उपस्थित भएका थिए ।
संघका महासचिव चिरञ्जीवी ओलीले पहिलो चरणको आन्दोलनबाट समस्या समाधान नभएपछि दोस्रो चरणको आन्दोलन गर्नु परेको बताए । ‘यो दोस्रो चरणको आन्दोलन हो, राष्ट्र बैंकले अब्यवहारिक खालको ‘चालु कर्जा मार्ग निर्देशन-२०७९’ कात्तिक १ गतेदेखी लागु हुने गरी जारी गरेको छ, यसबाट ब्यवसायीहरु आतंकित हुने परिस्थिती छ अहिले,’ ओलीले भने ‘ब्यवसायीले लिएको ऋण हरेक वर्ष एक पटक चुक्ता गर्नुपर्ने, ब्यवसायीको सामान गोदाममा छ, अब पैसा लिएर कसरी ऋण चुक्ता गर्न सकिन्छ ?’
कर्जा लिने कारोबारको २०/२५ प्रतिशत मात्रै ऋण पाउने ब्यवस्था राष्ट्र बैंकले गरेको र त्यो अब्यवहारिक रहेको महासचिव ओलीले सुनाए । उनले थपे, ‘आज अकस्मात लागु गर्न खोज्दा ब्यवसायीहरु चल्न सक्ने अवस्था छैन ।’
राष्ट्र बैंक कार्यालयमा धर्ना दिनु अघि संघको कार्यालय त्रिभुवन चोक पुर्वी लाइनबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वमा उद्योगी, ब्यवसायीले प्रर्दशन गरेका थिए । उक्त प्रर्दशन सदरलाईन, न्युरोड, धम्बोझी चोक हुदै राष्ट्र बैंक नेपालगन्जको कार्यालय अगाडी पुगेर धर्नामा परिणत भएको थियो । प्रर्दशनका क्रममा कालो ब्यानर र प्लेकार्ड सहित उद्योग, ब्यवसायीले चर्का नारा लगाएका थिए ।
ADVERTISEMENT