काठमाडौं फागुन। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने दाबी गरेका छन् ।
मंगलबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गरेका हुन् ।उनले भने, ‘ ९ दलको तर्फबाट एउटा संयन्त्र बनाएका छौँ । त्यही समितिको बैठक बस्यौँ । राष्ट्रपतिको मतदान गराउँदै छौँ । गठबन्धन त अघि बढिसक्यो । सबैले सहयोग गरेर अत्याधिक मतले जित्नुहुन्छ । ’
उनले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताए । उनले राष्ट्रपति निर्वाचनको व्यवस्थापन सम्बन्धीका बारेमा छलफल भएको बताए । उनले गठबन्धनकै बलमा आगमी दिनमा ९ दलीय गठबन्धनलाई व्यापक र बिस्तार गर्दै जाने बताए ।उनले भने, ‘आजको बैठक हामीले २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा ९ दलको तर्फबाट साझा उम्मेदवारको रुपमा प्रस्तुत गरिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलजीलाई अघि सारेका छौँ। प्राविधिक तयारीको कुरा हो । यो निर्वाचन परिचालनसँग जोडिएको संयन्त्र बनाएका छौँ। त्यसकै जगमा यसलाई बिस्तार र व्यापक गर्दै अघि जान्छौँ । अत्याधिक मतले हामी जित्छौँ ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले आजको बैठकमा गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताए ।उनले भने, ‘आज प्रारम्भिक छलफल भएको छ, कुनै निस्कर्ष भएको छैन । गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको छ।’सरकार बिस्तारको बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरुको भनाइ छ ।
ADVERTISEMENT