विराटनगर । नेपाल विद्युत प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन् ।विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्था आन्दोलनमा छन् । नियमित आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने उनीहरुको माग छ ।विद्युत प्रधिकरणले औद्योगिक क्षेत्रमा विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म दैनिक विद्युत कटौती गरिरहेको छ । त्यस बाहेक अन्य समयमा पनि विद्युत कटौती हुने गरेको उद्योगीको गुनासो छ ।
आइतबार मोरङ व्यापार संघको अगुवाईमा विद्युत प्रधिकरण दुहबी ग्रिडमा धर्ना दिएका व्यवसायीहरले नियमित विजुली दिन नसके लोडसेटिर्ङ तालिका सार्वजनिक गर्न माग गरे । अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन् ।उद्योगी व्यावसायीले दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापनपत्र समेत बुझाएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोमा मंसिरबाटै विद्युत कटौती सुरु भएको उद्योगीको गुनासो छ ।
दुहबी ग्रिडका प्रमुख खड्काका अनुसार पूर्व क्षेत्रमा गर्मी लागेपछि विजुलीको माग दैनिक २७० देखि २८० मेगावाटसम्म पुगेको छ । आपूर्ति भने २३०देखि २४० मेगावाट छ ।विजुली सप्लाई व्यवस्थापनका लागि औद्योगिक क्षेत्रलाई पिक आवरमा लोडमा राखिने उनले बताए । उनका अनुसार औद्योगिक क्षेत्रको विद्युत कटौती रोक्ने दुई वटा बिकल्प छन्, पहिलो पानीको स्रोत बढ्नु र दोस्रो भारतबाट आयात बढाउनु ।
कुसाहा–कटैया प्रसारणलाइनबाट दैनिक ७०–८० मेगावाट विजुली पूर्व क्षेत्रका लागि आँउछ । तर विहारबाट आउने विजुली पिक आवरमा भने काटिने उनले बताए । ‘दुई वटा प्रसारणलाइन मध्ये एउटाबाट मात्रै आँउछ, पिक अवरमा उत्ता माग बढ्दा कटौती गर्छ’, उनले भने, ‘अर्काे प्रसारणलाइनबाट थप विजुली ल्याउने प्रयास भइरहेको छ ।’ जलायश क्षेत्रमा पर्याप्त पानी परेको अवस्थामा पनि विद्युत कटौती रोकिने उनको भनाइ छ ।