सरकार जोगाउनुपर्ने भ्रष्टाचारविरुद्ध उभिन सक्दैन : बाबुराम भट्टराई
zeenepal
२०८० बैशाख ३०,
3
Shares
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर सरकार नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा आशंका रहेको बताएका छन् ।शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाले गरेको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्धको प्रदर्शनमा सहभागी हुन पुगेका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दरोसँग खुट्टा टेक्नेमा आशंका भएको बताएका हुन् ।‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन अस्थिर सरकार, त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटी छ ।’
नेता भट्टराईले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु उम्कन नसक्ने बताए । ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन्’ उनले भने ।प्रदर्शनका क्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति पनि प्रदर्शनकारीले आक्रोश पोखेका थिए ।
एक प्रदर्शनकारीले भने, ‘भूटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरु हुन् । यिनीहरुको बिरुद्धमा जनता जाग्नुपर्छ ।’भूटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले विरोध गर्दै आइरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाँण हिरासतमा छन् ।