काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा रास्वपाको अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी आफ्ना कुराहरू समेत राख्न नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको विषयमा रास्वपाका आफ्नै अडानहरू रहेको भन्दै सो विषयमा प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको कुरा पनि त्यही हो भन्ने भाष्य बनाइएको बताए ।प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै उनले भने, ‘रास्वपा प्रतिपक्षको भूमिकामा छ ।
हामी प्रतिपक्षमा हुनुका पनि आफ्ना मुद्दाहरू छन् । रास्वपा अरू कुनै दलको एजेण्डामा होइन, आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको छ । हामीमाथि प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको भाष्य त्यही हो भन्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भयो, यसमा हाम्रो आपत्ति छ । म यो कुरा सदनलाई स्मरण गराउन चाहान्छु ।उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसको खुलेर जवाफ दिनुपर्ने बताए ।
उहाँलाई प्रधानमन्त्री बनाउन रास्वपाको सभापतिको हिसावले मेरो आफ्नै हस्ताक्षर छ, हामी त हाम्रै सार्वभौम संसद्ले उहाँलाई प्रधानमन्त्री बनाएको भनेर सोचिरहेका थियौँ, तर उहाँ आफैँले छिमेकीले प्रधानमन्त्री बनाएको भने जसरी अभिव्यक्ति दिदै हिड्नुभएको छ,’ उनले भने, ‘म प्रधानमन्त्रीलाई आफ्ना भनाइहरूमा सजग गराउन चाहान्छु । उहाँ कहिले के भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ । कहिले बोल्नुहुन्छ, कहिले फिर्ता लिनुहुन्छ । उहाँलाई म आफ्ना भनाइहरूमा सजग हुन आग्रह गर्दछु ।उनले तीन दलले मात्रै मिलेर संसद्लाई बन्धक बनाउन खोजिएको बताए । ‘यो संसद्का धेरै कामहरू छन्, सदनमा यति धेरै कामहरू हुदा हुदै तीन दलको मुड चलेन भने संसद् नचल्ने भन्ने कुरा रास्वपा स्वीकार गर्दैन,’ उनले भने, ‘यसलाई तीन दलले बन्धक बनाउन मिल्दैन । हामी पनि प्रतिपक्षमा छौँ, हामी चुप लागेर बस्दैनौँ ।’