माओवादी-बीजेपी नजिकिँदै : अध्यक्ष नड्डाले गरे प्रशंसा
zeenepal
२०८० श्रावण १०,
51
Shares
काठमाडौँ — भारत सरकारको नतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै माओवादीको प्रशंसा गरेका छन् । भाजपाको निमन्त्रणमा भारत भ्रमणमा रहेका माओवादी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वको टोलीसँग डेढ घण्टा भएको भेटवार्तामा नेपालमा नड्डाले माओवादीको भूमिका खुलेर प्रशंसा गरेका हुन् ।
भाजपाको निमन्त्रणामा माओवादीको यो दोस्रो उच्चस्तरीय भ्रमण हो । यसले माओवादी र भाजपाबीच सम्बन्ध बढ्दै गएको संकेत गरेको छ । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच विश्वासको वातावरण बन्दै गएको माओवादी नेताको भनाइ छ ।माओवादी र भाजपाबीच सम्बन्ध सुधारका लागि भएको भ्रमणमा अध्यक्ष नड्डाले दुई पार्टीको सम्बन्ध विस्तारले दुई मुलुकको हितका लागि थप योगदान गर्ने बताएका थिए । भ्रमण टोलीका सदस्य एवं माओवादी सचिव चक्रपाणी खनालले भाजपा अध्यक्षसहित अरु नेतासँग फलदायी कुराकानी भएको बताए ।
नेपालको राजनीतिक परिवर्तनका लागि माओवादीले खेलेको भूमिकाप्रति भाजपा अध्यक्ष नड्डाले प्रशंसा गर्नुभयो’ उनले टेलिफोनमा कान्तिपुरसँग भने, ‘माओवादी प्रमुख शक्ति हुनुको नाताले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउन आवश्यक रहको कुराकानी भयो ।’ भेटमा माओवादी नेताहरुले दुई पार्टीको सम्बन्ध विस्तार भएकोमा खुसी व्यक्त गर्दै दुई देश र पार्टीको हितको लागि भ्रमण आदानप्रदान गर्नुपर्ने बताएका थिए ।एक वर्ष अघि भाजपा अध्यक्ष नड्डाको निमन्त्रणामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतको भ्रमण गरेका थिए । त्यसपछि माओवादी र भाजपाबीच औपचारिक/अनौपचारिक भेटवार्ता भइरहेको छ ।यसपटक भ्रमणमा रहेका माओवादी नेताहरुले जेठ तेस्रो साता प्रधानमन्त्री दाहालले भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका बेला जलविद्युत लगायतमा भएका सहमति कार्यान्वयका लागि पहल गर्न आग्रह गर्यौं’ खनालले भने, ‘त्यसका लागि नड्डाजीले आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिनुभयो ।उनले भाजपा अध्यक्ष नड्डाले मित्रवत् सम्बन्धलाई बलियो बनाउन खुलेर कुराकानी गरेको जनाए । ‘नड्डाजीले सहज ढंगले सम्बन्ध विस्तारका लागि आगामी दिनमा निरन्त छलफल गर्नुपर्ने कुरा राख्नुभयो’ उनले भने, ‘छिमेकी देशका ठूला दलसँग हाम्रो पार्टीको सम्बन्धका लागि हुने छलफल गर्ने नीति अनुसार भाजपासँग राम्रो भेटवार्ता भयो ।’मुख्यालयमा भएको भेटवार्तामा नड्डाले भाजपाको सम्बन्ध विस्तारबारे जानकारी दिएका थिए ।
सरकार र भाजपाबीच कसरी समन्वय भइरहेको रहेछ भन्ने जानकारी भयो’ खनालले थपे । भ्रमणका क्रममा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि माओवादी नेताहरुले दिवाभोज गरेका थिए । दिवाभोज वार्तामा क्वात्राले माओवादीले सरकारको नेतृत्व गरेका हुनाले दुई देशबीच सम्बन्ध बलियो हुने विश्वास गरेका थिए । ‘गठबन्धन सरकार कहिलेसम्म जान्छ होला ?’ भन्दै प्रश्न गरेका थिए । माओवादी नेताहरुले गठबन्धनमा समस्या नभएको बताएको भ्रमण टोलीका एक सदस्यले बताएका थिए । माओवादी नेतासँग क्वात्रासँग करिब डेढघण्टा वार्ता भएको थियो ।भ्रमण टोलीमा भुसालले भेटवार्ता ऐतिहासिक भएको बताएकी छन् । ‘भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भएको भेटवार्ता अत्यन्त फलदायी एवं एतिहाासिक रह्यो’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘नेकपा(माओवादी केन्द्र) र भाजपाबीच भएको अनुभव आदानप्रदानले दुई देशबीचको सम्बन्धमा पनि महत्वपूर्ण हुनेछ ।
भ्रमणमा रहेका माओवादी नेताहरुका अनुसार भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता हुने संभावना छ ।आइतबार गएको ५ सदस्यीय टोलीले सोमबारबाट नयाँ दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) बारे बुझेका छन् । उनीहरूलाई नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए । टोलीमा माओवादी सचिव खनाल, स्थायी समिति सदस्य सत्या पहाडी तथा नेताहरू सुरेशकुमार राई र रामेश्वरराय यादव छन् ।माओवादी नेताहरू भाजपाले अघि सारेको ‘भाजपालाई बुझ्ने’ कार्यक्रममा संगठन, महिला विभागलगायतसँग पनि अन्तर्क्रिया गरेका छन् । ‘भाजपा सरकारले भारतमा किसानका लागि मल बीउ कसरी व्यवस्थित गरेको रहेछ भन्ने राम्रो जानकारी पाइयो’ उनले भने ।माओवादी वरिष्ठ उपाध्यक्ष/विदेश विभाग प्रमुख एवं उपप्रधान/गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी अरु देशका पार्टीसँग सम्बन्ध विस्तार गर्ने नीति भएको बताए । ‘हाम्रो पार्टी र अरु देशका पार्टीबीच सम्बन्ध विस्तार गर्ने नीति नै हो’ उनले भने, ‘भाजपासँग पनि त्यसरीनै सम्बन्ध विस्तारका लागि पार्टीका नेताहरुको भ्रमण भएको हो ।
नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनसँग श्रेष्ठको नेतृत्वमा रात्रिभोजसहित भेटवार्ता गरेको थियो ।भारतमा हिन्दूत्वलाई मुख्य मुद्दा बनाएर राजनीति गरिरहेको भाजजा र नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता स्थापित गर्न लडेको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा विश्वास गर्ने माओवादी पार्टीबीच सम्बन्ध विस्तार आफैंमा अर्थपूर्ण मानिएको छ ।राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले माओवादी र बिजेपीबीच सम्बन्ध विस्तारमा सैद्धान्तिकभन्दा सत्ता संचालनका लागि व्यावहारिक साइनो भएको बताए । ‘भारतमा सरकारको नेतृत्व गरिरहेको र नेपालमा पनि माओवादीकै नेतृत्वमा सरकार भएकाले यो सदासयताका लागि भएको सम्बन्ध हो’ उनले भने, ‘माओवादी र भाजपाबीच सम्बन्ध विस्तारको सैद्धान्तिक आधार केही पनि छैन । आफूले सरकारको नेतृत्व गर्दा भारतको बलियो पार्टीसँग सम्बन्ध बढाउँदा फाइदै हुन्छ भन्ने माओवादीको बुझाइ हुन सक्छ ।’भारत भ्रमणका बेला दाहालले मध्यप्रदेशको उज्जैन गुरुवस्त्र लगाएर महाकालेश्वर मन्दिरमा पुजा गरेपछि नेपालका कम्युनिस्ट पार्टीले आलोचना गरेका थिए ।
सबै तस्बिरहरू : भारतीय जनता पार्टीको फेसबुक पेज