नेपालगञ्ज । नेपालगञ्जमा बिहीवारदेखि अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ सञ्चालनमा आएको छ । बिहीवार एक कार्यक्रमका बीच हलको उदघाटन गरिएको छ ।उदघाटनका अवसरमा पत्रकार सम्मेलन गरेर हलबारे जानकारी गराइएको थियो । बिहीवार पहिलो दिन निःशुल्क फिल्म समेत देखाइएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको हलमा शुक्रवारदेखि सर्वसाधारणले फिल्म हेर्न पाउने भएका छन् ।नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्शन’मा आधारित ३ वटा स्क्रिन भएको सिने रोयलको दुई वटा हल २ सय ५० र २ सय ५० क्षमताको तथा तेस्रो हल १ सय ५० सिट क्षमताको रहेको ‘सिने रोयल’का प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए । २५ करोड लागतमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएको हो ।
तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले सबै चलचित्र प्रेमीहरूका लागि ढोका खोलेको छ र यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गरेको छ । अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको हो ।गतिशील, दूरदर्शी र प्रेरणादायी युवा डा. राहुल थापाको वर्षौंको अनुसन्धान र मेहनतको परिणामको रुपमा यो रंगमञ्चलाई लिन सकिन्छ ।
नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । यहाँ उपलब्ध स्वादिलो खाना अमेरिका देखि भित्रयाइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण–अनुकूल भान्सामा, घरमा जस्तै तयार हुन्छ । जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको छ ।