नेपालगञ्ज : नेपालगञ्ज उपमाहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने तयारी शुरु गरिएको जनाएको छ । नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले एक वर्षसम्म फोहोर व्यवस्थापनबारे स्थानीय वासिन्दालाई निकै सचेत पारिएको र सम्झाइ बुझाइ समेत गरिएको बताए ।
अब पनि जथाभावी फोहोर गरिएको पाइएमा जरिवाना गरिने उनको भनाइ छ । उनले जथाभावी फोहोर नफाल्न सर्वसाधारणलाई अनुरोध गर्दै अबदेखि त्यस्तो गरिएको पाइएमा कारवाहीस्वरुप जरिवाना गरिने बताए ।
मेयर विष्टले थपे, ‘निर्वाचित भएर आएको एक वर्षसम्म विभिन्न सचेतनाका कार्यक्रम गरेर फोहोर व्यवस्थापनबारे जनतालाई जानकारी गराएका छौं, अब पनि कसैले अटेरी गर्छ र जहाँ पायो त्यही फोहोर फाल्छ भने अब जरिवाना तिर्नुपर्छ ।’
नेपालगञ्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नेपालगञ्ज नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम भइरहेको छ । नगरपालिकाले सफाई गरेर गएपछि जथाभावी ढङ्गले सडकमा फोहोर फाल्ने गरिएकाले अब त्यस्तो नगर्न सबैलाई आग्रह गरेको छ ।
नेपालगञ्जलाई फोहोरमुक्त र सफा शहर बनाउने अभियान शुरु गरिएको जनाउँदै सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले यो अभियानमा उपमहानगर भित्रका सबै जनाको सहयोग अपरिहार्य भएको बताए ।
उनले टोल टोलमा सरसफाइ समिति बनाएर फोहोर व्यवस्थापनबारे निगरानी गर्न पनि सबैलाई अनुरोध गरिएको बताए । नगरका विभिन्न ठाउँमा अझै पनि स्थानीयले जथाभावि फोहोर फाल्ने गरेकाले सरसफाइ कार्यक्रम सफल हुन नसकेकाले कडाइ गर्ने निर्णयमा पुगिएको उपमहानगरले जनाएको छ ।
नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले फोहोर व्यवस्थापनबारे सचेतना फैलाउने काम अब सकिएको जनाउँदै वडावासीको घर–घरमा पुगेर अब फोहोर जथाभावी फालेमा कारवाही हुने जानकारी गराए ।नेपालगञ्जमा ३५ हजार ५१७ परिवारमा १ लाख ६६ हजार २५८ को बसोबास रहेको छ । प्रतिदिन कम्तिमा ३८ मेट्रिक टन फोहोर उत्पादन हुनेगरेकोमा २५ टन मात्र प्रशोधन केन्द्रसम्म पुग्ने गरेको छ ।