नेपालगञ्ज : बाँकेको खजुराका स्थानीय बासिन्दाले धार्मिक महायज्ञ मार्फत मुठीदान सङ्कलन गरी निर्माण शुरु गरेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई नेपाल सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।२०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको क्यान्सर अस्पताल सञ्चालनका लागि चालु आर्थिक बर्ष २०८०/८१ मा पुँजीगत र चालु खर्चतर्फ दोब्बर बढी विनियोजन भएको छ ।सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार चालु आवमा पुँजीगततर्फ १५ करोड र चालुतर्फ १० करोड गरी २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष मल्लले भने, ‘कर्मचारी दरबन्दी स्वीकृत लगायतका माग सम्बोधन नभए पनि सरकारले बजेट विनियोजनमा प्राथमिकता दिएको छ ।’स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघिल्ला आर्थिक वर्षहरुमा पुँजीगततर्फ ६ करोड र चालु खर्चतर्फ चार करोड गरी १० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गर्दै आएकोमा यस बर्ष उल्लेख्य मात्रामा बजेट विनियोजन भएको अध्यक्ष मल्लले जानकारी दिए ।
क्यान्सर अस्पताल निर्माणको प्रारम्भिक शुरुवात प्रखर परोपकार मिसनमार्फत खजुराबासीले गरे पनि नेपाल सरकारको आर्थिक सहयोगमा सम्पन्न भएको छ । बजेट थप भएपछि क्यान्सरको उपचारका लागि नयाँ उपकरण सञ्चालन तथा अन्य सेवा सञ्चालनका लागि सहयोग पुग्ने अस्पताल विकास समितिले जनाएको छ ।
अस्पतालमा शुक्रबारदेखि सम्पूर्ण साधारण शैयाहरु निःशुल्क गरिएको छ । साथै अस्पतालमा भर्ना भएका अति विपन्न बिरामीलाई निःशुल्क खानाको पनि व्यवस्था भएको अस्पतालका निर्देशक डा. निरज भट्टराईले जानकारी दिए ।अस्पतालमा जडानको क्रममा रहेको लिन्याक मेशिन सञ्चालनमा आएसँगै क्यान्सरका सबै उपचार सेवा खजुराबाटै दिन सकिने छ ।