भूकम्पमा परी २५ विद्यार्थी मृत्यु, १०५ विद्यालय भवन पूर्ण क्षति
zeenepal
२०८० कार्तिक २०,
6
Shares
काठमाडौं । गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प जाँदा प्रारम्भिक तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिममा २५ जना विद्यार्थी, एक शिक्षकको मृत्यु भएको छ ।जाजरकोट जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख रमेश मल्लका अनुसार आइतबार राती १० बजेसम्मको विवरण अनुसार भूकम्पमा परी ११ जना विद्यार्थी, एक निजी स्रोत शिक्षकको मृत्यु भएको हो ।भूकम्पमा परी घाइते हुने विद्यार्थीको संख्या २० जना पुगेको छ । प्रमुख मल्लका अनुसार भूकम्पले पूर्ण क्षति पुर्याएको विद्यालय भवनको संख्या ९१, कक्षाकोठा ३६६, शौचालय ४३ वटा, आइसीटी ११ वटा, पुस्तकालय १, घेराबार ७ वटा, सोलार ४ वटा विवरण प्राप्त भएको छ ।
इकाइका अनुसार १२२ विद्यालय भवनमा, ४७६ कक्षाकोठा र ३५ वटा शौचालयमा आंशिक क्षति पुर्याएको छ । प्रमुख मल्ल क्षतिको विवरण संकलन भइरहेकोले अझै बढ्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘यकिन तथ्यांक अझै संकलन भइसकेको छैन । यो गएराति १० बजेसम्मको विवरण मात्रै हो । क्षतिको संख्या बढ्छ ।जाजरकोटको भेरी नगरपालिकाको अनुसार पालिकामा मात्रै भूकम्पमा परी ११ जना विद्यार्थीको मृत्यु भएको छ । ३ जना शिक्षक र ३१ जना विद्यार्थी घाइते भएको शिक्षा शाखा प्रमुख अमृत बहादुर पुनले जानकारी दिए ।
भूकम्पले १४ विद्यालय भवनमा, ४७ वटा कक्षा कोठामा, ९ शैचालय र ४ वटा घेराबारमा पूर्ण क्षति पु¥याएको छ । आंशिक क्षति भएको ७८ विद्यालय भवन, १७१ कक्षाकोठा, ३८ वटा शौचालय, ९ घेराबार, विज्ञान प्रयोगशाला १, आइसीटी ल्याब ९ र सोलार सिस्टम २ वटामा पुगेको छ ।त्यस्तैगरी रुकुम पश्चिम जिल्लामा भूकम्पमा परी १४ जना विद्यार्थीको मृत्यु भएको छ जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख तारा पुनले जानकारी दिए । उनको भनाइ अनुसार एक विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।इकाइको प्रारम्भिक तथ्यांक अनुसार १५ वटा विद्यालय भवनमा पूर्ण रुपमा क्षति पुगेको र २० वटा विद्यालयमा आंशिक क्षति पुगेको इकाइ प्रमुख पुनले जानकारी दिए ।उनले भने, ‘यो प्रारम्भिक विवरण हो अझै विवरण संकलनकै क्रममा छौं । क्षतिको विवरण अझै थपिनसक्छ ।’