काठमाडौँ — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजविराजस्थित संघीय सरकार मातहतको गजेन्द्रनारायण सिंह अस्पतालको सेवा प्रवाहको अवस्था दयनीय रहेको बताएका छन् । निजी अस्पतालहरुको अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले आइतबार दिउँसो गृह जिल्ला आएर अनुगमन गरेका थिए ।अनुगमनमा आएका मुख्यमन्त्रीलाई सेवाग्राहीहरुले अस्पतालमा स्वास्थ्य सेवा पाउन नसकेको, व्यवस्थापन कमजोर रहेको, स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचार पाउन नसकेका लगायतका गुनासो गरेका थिए । ‘साँच्चिकै गजेन्द्रनारायण अस्पतालको अवस्था अति नै दयनीय छ,’ अनुगमनपछि उनले भने, ‘न मेडिकल सुपरिटेन्डेन्ट छ, न त मेडिकल अफिसरहरु नै छ, अति दयनीय अबस्थाबाट यो अस्पताल गुज्रिरहेको पाएँ ।
उनले अस्पतालको दुरावस्थाबारे जानकार भएपछि अनुगमनकै क्रममा रहेका बेला संघीय स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई फोन गरेका थिए । तर संघीय मन्त्री पौडेल बैठकमा व्यस्त रहेकाले कुराकानी हुन सकेन् । उनले स्वास्थ्यमन्त्रीसँग कुरा गरेर गजेन्द्रनारायण अस्पतालको अवस्था सुधारबारे प्रयास गर्ने बताए ।अनुगमनकै क्रममा मुख्यमन्त्री सिंह गजेन्द्रनारायण अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीपकुमार साहको निजी क्लिनिक पनि पुगेका थिए । स्त्री तथा प्रसूति रोग विशेषज्ञ शाहको क्लिनिक मापदण्डविपरीत रहेकोले उनले तत्काल बन्द गर्न निर्देशन दिए । उनले राजविराजकै भारती इमरजिङ सेन्टर पनि मापदण्डविपरीत रहेकाले बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री नेतृत्वको अनुगमन टोलीले राजविराजस्थित अनार भुवनेश्वर अस्पताललाई मापदण्डमा आउन दुई महिनाको समय तोकिएको तथा सन्जनदिप हस्पीटलमा एनेस्थेसियाबिना शल्यक्रिया भइरहेको पाइएकोले सो व्यवस्थापन मिलाई मापदण्डमा आउन दुई महिनाको समय तोकेको छ । यस्तै राजविराजकै युनिक सिटी अस्पतालाई पनि नवीकरण गर्न निर्देशन दिइएको छ ।

