काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विभिन्न निकायबिच समन्वय नहुने हो भने देश विकास हुन गाह्रो रहेको गुनासो पोखेका छन् । उनले समन्वयको अभावमा भूमिगत तार बिछ्याउने काम अलपत्र हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ललितपुरमा स्मार्ट सडक बत्ती उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिसिङले भने, ‘यो देशमा देश विकास हुन निकै गाह्रो छ । कोओर्डिनेसनको इस्यू यति ठुलो छ । भित्रभित्रको सडकमा अन्डरग्राउन्ड केबलिङ महँगो परियोजना हो । यो काम गर्न अप्ठ्यारो छ । तर पनि समन्वय गरेर गरौँ भन्दा पनि बर्खाभरि वहाँहरूले दिनै हुन्न । बर्खा सके पनि उहाँहरूले अहिलेसम्म दिनु भएको छैन । मेरो कन्ट्राक्टर अब काम गर्दैनौँ भनेर हिँडिसक्नुभएको छ ।यो विषयमा महानगरपालिकाले सडक विभागसँग पहल समन्वय गर्ने हो भने अझै पनि केही समय बाँकी भएको उनको जिकिर छ । ‘यो परियोजना बेवारिसेमा परिणत हुँदैछ । यो दुर्भाग्यपूर्ण छ । मलाई पीडा लाग्छ ।’
‘वनमा गयो ट्रान्समिसन लाइन बनाउन दिँदैन । वनकै राज्य । सडकमा गयो सडकमै राज्य,’ उनले आक्रोश पोखे, ‘कहाँ चाहिँ काम गर्ने उनले यो स्थिति आउनुमा सबै जिम्मेवार रहेको पनि जिकिर गरे । उनले सबैलाई जिम्मेवार बन्न र देशको विकासमा योगदान गर्न आग्रह गरे । ‘आम जनताले पनि केही समय अप्ठ्यारो बेहोर्नुपर्छ,’ उनले भने, ‘तर यहाँ केही समय अप्ठ्यारो पर्यो भने कामदार थुनिदिन्छ । म आफू उभिएर काम गर्न लगाउँछु भन्दा पनि अहिले कन्ट्राक्टरले सहमति गर्नुस् भनिदिन्छ । यो समस्या समाधान भएन भने विकास सम्भव छैन ।’

