काठमाडौँ । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नारासहित यो दिवस मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको आर्थिक र सामाजिक विकासमा आप्रवासी नेपालीको योगदानको प्रशंसा गरे ।
हाल विश्वव्यापीकरणलगायत विषयले आप्रवासन समाजको अभिन्न अङ्ग बन्न पुगेको छ । यस दिवसका अवसरमा सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उनले भनेका छन्, “अत्यन्त कठिन परिस्थितिमा पनि आप्रवासनमा रहेर नेपालको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु ।मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्रममा निधन भएका आप्रवासी श्रमिकप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । सन् १९९० देखि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउँदै आइएको हो ।

