काठमाडौं ४ जेठ, । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले अग्रता लिइरहेका मात्र छैनन्, नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा बढी उनी एक्लैले ल्याएका छन् ।
यो समाचार तयार पर्दासम्म बालेनले १७ हजार ६४३ मत पाएका छन् भने एमालेका केशव स्थापितले नौ हजार ११० र कांग्रेसकी सिर्जना सिंहले आठ हजार १६७ मत पाएकी छिन् ।
काठमाडौं महानगरको मेयरकी उम्मेदवार समीक्षा बास्कोटाले जम्मा १३३ मात्रै प्राप्त गरेकी छिन् ।
जबकी २०७४ को स्थानीय चुनावमा तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेदवारले प्रमुख दलका उम्मेदवारहरुलाई कडा चुनौती दिएका थिए । विवेकशीलकी रञ्जु दर्शनाले उतिबेला २३ हजार ४३९ मत ल्याएकी थिइन् भने साझा पार्टीबाट उठेका किशोर थापाले पनि १८ हजार ४९६ मत प्राप्त गरेका थिए ।
त्यही मतबाट हौसिएर पार्टी एकता गरेका विवेकशील र साझा मिलेर बनेको विवेकशील साझाले यसलाई नगन्य मत पाएको छ । काठमाडौं मात्र होइन, ठूला शहरहरुमा विवेकशील साझाका उम्मेदवारहरुले पाएको मत यस्तै छ ।अहिलेसम्म बाराको फेटा गाउँपालिकामा एउटा वडाध्यक्ष जितेको छ भने त्यही पालिकामा दुईवटा वडा गन्न बाँकी छँदासम्म अध्यक्षका उम्मेदवार रुस्तम अन्सारीले अग्रता लिएका छन् ।
अन्यत्र अवस्था दयनीय छ । जबकी विवेकशील साझा छाडेर धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल (गोपी) हमालले पनि कांग्रेस र एमालेका उम्मेदवारलाई फराकिलो मत अन्तरले पछाडि छाडेका छन् भने धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता लिएका छन् ।
ADVERTISEMENT