काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पुरयाएका छन् । विसं २०१६ मा राजनीतिक यात्रा आरम्भ गरेका उनी मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा धेरै पटक प्रहरी हिरासत र जेलजीवन बिताए ।गत एक वर्षमा समग्रतामा सङ्घीय संसद् चलिरहेको देखिए पनि कामकाजभन्दा गत्यारोधमा बढी समय खर्चिएको जनाउँदै ‘सांसदसँग रासस संवाद’मा उनले पूरापूर दुई महिना सांसदले काम नै गर्न नसकेको प्रतिक्रिया दिए । नेपालमा प्रजातान्त्रिक अभ्यास लामो नभएको र पटक–पटक अवरोध भएको इतिहास रहेको जनाउँदै पूर्वउपसभामुख ठाकुरले भने, ‘कसैलाई चित्त बुझेन भने विरोध गर्न सकिन्छ तर दिनदिनै लामो समयसम्म रोष्टम घेराउ गर्ने भनेको संसदीय प्रजातन्त्रभित्रको उग्ररुप हो ।’ कानुन बनाउने विषयमा दलहरुले आवश्यक समय र ध्यान दिएन भनी लागेको आरोप भने अस्वीकार गर्दै नेता ठाकुर त्यो ‘आरोप’ मात्रै भएको बताउँछन् ।
उनले भने, ‘संविधान र सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण विधेयकसमेत यस अवधिमा अघि बढ्न सकेन । मिटरब्याजसम्बन्धी विधेयक पारित भए पनि पीडित अझै खुशी छैन । विधेयक भरसक सबैको सहमतिमा टुङ्ग्याउँदा राम्रो हुन्छ ।’ एक प्रसङ्गमा शान्तिपूर्ण जुलुस निकाल्ने र सडकमा प्रदर्शन गर्ने सबैको प्रजातान्त्रिक अधिकार भए पनि तोडफोड गर्ने उग्ररुप भएको बताउँदै उनले भने, ‘सरकारबाट पनि हिंसात्मक हस्तक्षेप हुन्छ, विरोधमा उग्ररुप देखिए सरकारले नियन्त्रणका लागि सशस्त्र बल प्रयोग गर्छ अनि असहज स्थिति आउँछ, त्यो सबैले बुझ्नुपर्छ ।केही समय भारतमा निर्वासनसमेत रहेका पूर्वउपसभामुख ठाकुर पछिल्ला दशक मधेस र मधेसी समुदायका हकहितका ‘एजेन्डा’ उठाउँदै कार्यान्वयनका लागि पहल गरिरहेका छन् । उनीसँग शिक्षण र वकालतको अनुभव, निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरको परिचय छ । महोत्तरीको पीपरामा विसं १९९९ मा जन्म भई केही समय सर्लाहीलाई कर्मथलो बनाएका ठाकुरले विसं २०४८ र २०५१ को मध्यावधि निर्वाचनमा त्यहाँबाट प्रतिनिधित्व गरे ।
तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी स्थापनासँगै मधेस केन्द्रित राजनीतिमा सक्रिय नेता ठाकुर विसं २०७४ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठन गरी सो पार्टीको अध्यक्षमण्डलको सदस्य भए । विसं २०६४ मा मनोनीत संविधासभा सदस्य तथा विसं २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भए ।कानुनमा स्नातक र इतिहासमा स्नात्तकोत्तर ठाकुरले विसं २०७४ पछि गठन भएको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यका रुपमा केही समय सभाको अध्यक्षता गर्दै सदनमा प्रवेशी सदस्यलाई शपथ दिलाएर र बैठक सञ्चालन गरे । ६ वर्षमा बल्लबल्ल ‘पास’ भएको नागरिकता विधेयक कार्यान्वयनमा गए पनि जनताले अझै सहजरुपमा नागरिकता प्राप्त गर्न नसकेको गुनासो सुन्न परेको बताउँदै पूर्वमन्त्री ठाकुरले कर्मचारी संयन्त्रको उल्झन र पैसाको खलखेलले त्यो गुनासो आएको प्रतिक्रिया दिए ।

