
विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका अध्यक्ष खड्काले बताए । विगत १३ वर्षदेखि ढाड र घुँडा दुख्ने समस्याबाट ग्रसित बागलुङ अमलाचौरका ६३ वर्षीय डण्डपाणि चापागाईंले विगत तीन वर्षदेखि हिउँदयाममा तातोपानीमा डुब्न आउने गरेको बताए । “काठमाडौँ र पोखराका धेरै अस्पतालमा उपचार गराएँ तर निको भएन, तीन वर्षअघिदेखि तातोपानीमा आएर १०/१२ दिन डुब्ने गरेको छु । पोहोर सालभन्दा अहिले दुखाइ कम भएको छ”, उनले भने ।
विगत तीन वर्षदेखि वर्षमा एकपटक कुण्डमा आएर डुब्ने गरेका डण्डपाणि तातोपानीमा डुबेर नै रोग निको हुनेमा विश्वस्त रहेका छन् । यहाँ हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामी डुब्न आउने गरेका कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताए । कुण्डमा डुब्न तथा स्नान गर्नका लागि नेपालको अधिकांश जिल्लासहित छिमेकी देश भारत र तेस्रो मुलुक जापान, कोरिया, युरोपलगायत देशका नागरिक पनि भ्रमणका क्रममा आएर नुहाउने गरेको उनको भनाइ थियो ।
जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा बिरेनुनको स्वादमा निस्कने तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्याष्ट्रिक, बाथरोग, घाउखटिरा, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, नशा च्यापिएको, बज्रिएको सड्किएको, मर्किएकोसहित चिसोबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास रहेको छ ।पछिल्लो समय कुण्डमा बिरामीलाई लक्ष्य गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरिएको छ । व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्था गरेको छ । तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति रु तीन सय ५० र बाहिरको पोखरीमा प्रतिव्यक्ति रु एक सयको टिकटको व्यवस्था गरिएको छ ।