काठमाडौँ । राप्रपाको एक समूहले पार्टीका नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पूर्वएआईजीसमेत रहेका कार्यसम्पादन समिति सदस्य श्रेष्ठलाई पार्टी कार्यालयभित्रै कुटपिट भएको थियो ।
स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठकमा छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि विभिन्न प्रश्न उठेको भन्दै आलोचना भएको थियो । सोही क्रममा श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताएका थिए । त्यसपछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए । त्यसलगत्तै श्रेष्ठमाथि आक्रमण भएको बताइएको छ । राप्रपाको कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको डकुमेन्टमाथि छलफल गरेर जारी राजनीतिक परिस्थितिबारे उपयुक्त निर्णय लिने तयारी छ । यस्तै पार्टीले गर्ने भनिएको आन्दोलनबारे पनि आवश्यक निर्णय गर्ने तयारी छ ।

