काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरुलाई आफ्नो पदीय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गरेकी छन् । देश विकासको गर्विलो आधार र आम मानिसहरुले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरुले आफ्नो गरिमालाई बचाउने कुरामा ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाई थियो । बुधवारबाट काठमाडौँमा सुरु भएको नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले नेपाली जनताको विकासको तीव्र चाहनालाई सम्बोधन हुनेगरी पूर्वाधार विकासका काममा इन्जिनियरहरु लाग्नुपर्ने आवश्यकता पनि औँल्याइन् ।
मन्त्री गुरुङले पूर्वाधार निर्माणको कामलाई जनमैत्री बनाउनुपर्नेमा पनि इन्जिनियरहरु सचेत हुनुपर्ने बताइन् । उनले पूर्वाधार विकासका कारण जोखिमयुक्त अवस्था आउन नदिनका लागि सम्बन्धित पक्षहरूबिचमा बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।मन्त्री गुरुङले प्रभावकारी हुनेगरी पूर्वाधार निर्माणका लागि डिजाइनको काम गर्ने कुरामा पनि इन्जिनियरहरुलाई सचेत गराइन् ।

