काठमाडौं । नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बिहीबारदेखि काठमाडौँमा सुरु हुने भएको छ ।बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौँ आउने भएका छन् ।संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने’, परराष्ट्र मन्त्रालयले जनाएको छ ।उनीसंगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ ।परराष्ट्र मन्त्रालयले भने जयशंकरले राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड र समकक्षी साउदसँग मात्रै बिहीबार भेट गर्ने कार्यक्रम रहेको जनाएको छ ।जयशंकर नेतृत्वको प्रतिनिधिमण्डलका लागि परराष्ट्रमन्त्री साउदले रात्रीभोज आयोजना गर्नेछन् । परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू संग सामूहिक भेटघाट हुनेछ ।उनी आयोगको बैठक सकेर शुक्रबार दिल्ली फर्किने कार्यक्रम रहेको छ ।
ADVERTISEMENT

